पूर्वी नवलपरासीको एक जनामा कोरोना पुष्टि

काठमाडौं, पूर्वी नवलपरासीमा पनि विहिबार एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । देवचुली नगरपालिका वडा नम्बर १२ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ ।

यस संगै कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । भारतबाट आएका पुरुषको चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । संक्रमित व्यक्ति भारतको कोलकाता बाट वैशाख २५ गते हिडेर ३० गते चितवनको भरतपुर आइपुगेका थिए । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार विहान पनि २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको थियो । मन्त्रालयका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकालाई संक्रमण देखिएको हो । घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण भेटिएको हो । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो। बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ। उनलाई संक्रमण देखिएसँगै उपचारमा संलग्न चिकित्सक क्वारेन्टाइनमा बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?