रामपुरमा ज्याग्दी पार्क तथा चिडियाखाना निर्माण हुने , डिपिआ तयार

पाल्पा , पछिल्लो केही बर्ष यता देशका विभिन्न स्थानमा पर्यटकीय क्षेत्र निर्माण तथा पर्यटन विकासका लागी स्थायिले अग्रसरता देखाउदै आउको छ । आ–आफ्नो क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउनका लागी पर्यटकीय स्थल निर्माण गरी पर्यटन प्रबद्र्धनमा स्थानिय आफै जुटेका छन् ।

घुम्न लायकको घुम्ने ठाँउ बनाउने र आफ्नो क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले मनमोहक पर्यटकीय क्षेत्र निर्माण गरेको धेरै ठाँउमा देख्न र हेर्न पाईन्छ । यस्तै पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ मा रहेको ज्याग्दी सामुदायिक वनमा पनि वन क्षेत्रलाई घुम्न लायकको पर्यटकीय क्षेत्र निर्माण कार्य भईरहेको छ ।

वन क्षेत्र भित्र ज्याग्दी पार्क तथा चिडियाखाना निर्माण हुने भएको छ । वन क्षेत्रमा निर्माण हुने ज्याग्दी बृहत पार्क तथा चिडियाखानाको डिपिआर समेत तयार भएको छ । पार्क तथा चिडियाखाना निर्माणका लागी तयार भएको डिपिआर ज्याग्दी बृहत पार्क तथा चिडियाखाना विकास समितिले रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । समितिले मंगलबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई डिपिआर हस्तान्तरण गरेको हो । उक्त डिपिआर बुझ्दै नगर प्रमुख थापाले यसको निर्माणले रामपुरको पर्यटन विकासका लागी थप टेवा पुग्ने बताउनुभयो । यो पार्क निर्माण सम्पन्न भएपछि रामपुरको मात्र नभई समग्र जिल्लाकै नमुना पार्कको रुपमा हुने र रामपुरको चिनारी हुने बताउनुभयो । उहाँले यसको निर्माणका लागी रामपुर नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै ठुलो लागत लाग्ने भएकाले यसका लागी प्रदेश सरकार , केन्द्र सरकार , पर्यटन बोर्ड लगाएत विभिन्न निकायमा पनि बजेट माग गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिृत ऋषिराम आचार्यले पार्क निर्माण गरे रामपुरको गहना हुने बताउदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आर्थिक लाभ लिन सकिने बताउनुभयो । साथै उहाँले डिपिआर बनाउने तर कार्यान्वयन नगर्ने समस्या रहेकाले निर्माण सम्पन्न गर्नका लागी सवै लाग्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिकामा डिपिआर हस्तान्तरण कार्यक्रममा बोल्दै रामप्ुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले प्रारम्भिक चरणमा वडाबाट बजेट विनियोजन गरी काम शुरु गरिएको बताउदै निर्माण सम्पन्न गरी यस क्षेत्रको पर्यटन विकास लागी सवै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

डिपिआर हस्तान्तरण गर्दै ज्याग्दी बृहत पार्क तथा चिडियाखाना विकास समितिका अध्यक्ष ओम प्रकाश बस्यालले यसको निर्माणले पर्यटन विकास मात्र नभई भोली नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नती हुँदा अपरिहार्य सुचकको रुपमा पनि हुने बताउनुभयो । उहाँले यसको निर्माणका लागी नगरपालिकाबाट पूर्ण सहयोग गर्न अनुरोध गर्दै अन्य सम्बधित निकायमा पनि पहल गरिने बताउनुभयो । रामपुर नगरपालिकाको कार्यालयमा भएको डिपिआर हस्तान्तरण कार्यक्रमको संचालन ज्याग्दी बृहत पार्क तथा चिडियाखाना विकास समितिका सचिव बासुदेव ढकालले गर्नु भएको थियो ।

५ करोड १३ लाख ९४ हजार ४ सय ७३ रुपैयाँको लागतमा पार्क तथा चिडियाखाना निमार्णको लागी गोल्डेन एरा कन्सल्टेन्सि प्रालि कुपण्डोल ललितपुरले डिपिआर तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?