कार्तिक १६ ।
पाल्पा, कालीगण्डकी–तिनाउ डाइभर्सन योजना खारेजीका लागि राम्दीदेखि देवघाटसम्मका नदी तटीय स्थानीय तहहरुले साझा प्रतिबद्धता जनाएका छन् ।कालीगण्डकी बचाउ अभियान अन्तर्गत रामपुर नगरपालिकामा आइतबार भएको कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका कालीगण्डकी तटीय क्षेत्रमा रहेका स्थानीय तहहरुले कालीगण्डकी नदीको संरक्षण, प्राकृतिक बहाव कायम र प्रस्तावित कालीगण्डकी–तिनाउ डाइभर्सन योजना खारेजीको लागि साझा प्रतिबद्धता जनाएका हुन् ।
नदीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वलाई आत्मसात् गर्दै स्थानीय तहहरूले आ–आफ्नो नीति, कार्यक्रम तथा बजेटमा नदी संरक्षणलाई प्राथमिकता दिने निर्णय गरेको छ ।कार्यक्रममा जनप्रतिनिधि, रामपुर नगरपालिका भित्रका राजनैतिक दल, कालीगण्डकी बाचाउ अभियानका नागरिक समिति सहित सरोकारवालाहरुको उपस्थितिमा छलफल भएको थियो । नदीलाई प्रदूषणमुक्त राख्न ढलरहित पालिका अभियान सञ्चालन गर्ने, प्रत्येक पालिकामा कम्तीमा १५ वटा संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने तथा प्रत्येक वर्ष दामोदर मासको अन्तिम दिन र कार्तिक शुक्ल पूर्णिमामा नदी महोत्सव आयोजना गर्ने निर्णयसमेत गरिएको छ । यस वर्ष मंसिर १२ गते रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी नदी किनारमा बृहत् कालीगण्डकी नदी महोत्सव आयोजना गरिने भएको छ ।
महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, स्थानीय कला तथा संस्कृति प्रदर्शन, धार्मिक प्रवचन, भजनकीर्तन, जल पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको प्रदर्शनी र नदी सरसफाइका कार्यक्रम सञ्चालन गरिने रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो । नदी संरक्षणमा नागरिकको सहभागिता सुनिश्चित गर्न प्रत्येक स्थानीय तहमा ‘कालीगण्डकी बचाउ अभियान नागरिक समिति’ गठन गर्ने निर्णय पनि भएको छ । नदीको प्राकृतिक बहाव, परम्परागत सिँचाइ प्रणाली, खानेपानी तथा स्थानीय समुदायको जलस्रोत उपयोगको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पैरवी गर्ने निर्णय गरिएको छ ।
प्रस्तावित कालीगण्डकी–तिनाउ डाइभर्सन योजनाले नदीको प्राकृतिक बहाव, शालिग्राम, पर्यावरणीय सन्तुलन, कृषि, पर्यटन तथा स्थानीय जनजीवनमा पार्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै योजना खारेजीका लागि संयुक्त पहल गर्ने निर्णयसमेत गरिएको छ । नदी संरक्षणका लागि स्थानीय तहबीच निरन्तर समन्वय र सहकार्य गर्दै कालीगण्डकीको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा भावी पुस्तासम्म सुरक्षित हस्तान्तरण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी जलमार्ग मात्र नभै धार्मिक तथा सांस्कृतिक नदी भएको बताउनुभयो । कालीगण्डकी धार्मिक तथा ऐतिहासिक नदी भएको बताउँदै विश्वसम्पदा सूचीमा राख्नु पर्नेमा अन्यत्र कतै तोडमोड गर्ने विषय तटीय क्षेत्रका नागरिकको लागि स्वीकार नहुने बताउनुभयो । नदी डाईभर्सनले यस क्षेत्रको धार्मिक सभ्यता मात्र नभै पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर गर्ने बताउनुभयो ।
कालीगण्डकी दुई प्रदेशको साझा नदी भएको बताउँदै पानीको प्रयोगको सिद्धान्तको अनुसार तल्लो तटिय क्षेत्रले प्रयोग गर्न पाउनु पर्ने बताउनुभयो । नदीलाई सिंचाई संगै याहाँको धार्मिक तथा पर्यटन प्रवद्र्धनमा साझा योजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी सभ्यता हाम्रो जीवन संग जोडिएको बताउँदै कुनै पनि हालतमा हामीले डाईभर्सन हुन नहुने बताउनुभयो । उहाँल नदी संगै याहाँका धार्मिक स्थलहरुको संरक्षण र प्रचार प्रसारमा अघि बढ्नु पर्ने बताउनुभयो । बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले कालीगण्डकी करिडोर निर्माण संगै भर्खर आफ्नो पहिचान बनाउन सफल कालीगण्डकी उपत्यकाको लागि डाइभर्सन कुनै हालतमा मान्य नहुने बताउनुभयो । उहाले कालीगण्डकीको स्वच्छताका लागि सचेतनाको कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले कालगिण्डकी संरक्षणका लागि निस्दी गाउँपालिका प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले कुनै ठाउँको विकास गर्दै गर्दा अर्को स्थानमा विनाश हुनु गर्ने विषय कुनै हालतमा स्विकार्य नहुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका सभापति राम प्रसाद ढकाल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि अच्युतराज खनालले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा कालीगण्डकी बाचाउ अभियान नागरिक समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले कालीगण्डकी नदीको धार्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि, डाइभर्सनले पार्ने प्रभावको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
उहाँले कालीगण्डकी नदी डाईभर्सन तिनाउ नदी क्षेत्रका नागरिकहरुको लागि पनि घातक सावित हुने बताउनुभयो । सिंचाई नै गर्ने हो भने तल्लो तटिय क्षेत्रको २ लाख हेक्टर बढी कृषियोग्य भूमि सिंचाई गर्ने छाडेर तराईको एक लाख ७ हजार हेक्टर भुमि सिंचाई गर्ने नाममा धार्मिक नदि डाइभर्सन गर्ने योजना स्विकार्य नहुने बताउनुभयो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend