कार्तिक १७ ।
पाल्पा, पूर्वखोला गाउँपालिका-१ सिलुवामा सम्पन्न दशौं संस्करणको मण्डली कप खुल्ला क्लव स्तरीय आमन्त्रित पुुरुष भलिबल प्रतियोगिताको उपाधि मामा भान्जा युनाईटेड क्लव रामपुरले हात पारेको छ । प्रतियोगिता अन्तर्गत सोमबार साँझ भएको फाइनल खेलमा मनकामना भलिबल क्लव स्याङ्जालाई ३-२ सेट अन्तरले पराजित गर्दै मामा भान्जा युनाईटेडले उपाधि चुमेको हो ।
मण्डली स्पोर्टस क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सह-आयोजनामा गत कार्तिक १३ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा उपाधि विजेता मामा भान्जा युनाईटेड क्लवले पहिलो, तेस्रो र पाँचौ सेट २५-२१, २५-१८ र १५-१० अंक सहित आफ्नो पक्षमा पारेको थियो । मनकामना भलिबल क्लवल दोस्रो र चौथो सेट २५-२१ र २६-२४ अंक सहित जितेको थियो । फाइनल खेलमा पराजित भए संगै मनकामनाले द्वितीय स्थानमा चित्त बुझाएको छ ।
८ क्लवको सहभागीता रहेको प्रतियोगितामा न्यू होराइजन स्पोर्टस् क्लव रुपन्देही तृतीय भएको छ । तृतीय स्थान छनौट खेलमा जिल्ला भलिबल संघ पाल्पालाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पहिलो, दोस्रो र तेस्रो सेट न्यू होराईजनले २५-२२, २५-२२ र २५-१९ अंक सहित आफ्नो पक्षमा पारेको थियो । अन्तत जिल्ला भलिबल संघ पाल्पा प्रतियोगिताको सान्त्वना भएको छ । प्रतियोगितामा विजेता समूह मध्ये प्रथम, द्वितीय, तृतीय र सानत्वनाले क्रमश : नगद २ लाख २ हजार रुपियाँ, एक लाख एक हजार रुपियाँ, ५१ हजार रुपियाँ र २६ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मामा भान्जा युनाईटेडका सञ्जु विक्रम शाह बन्नु भएको छ । त्यस्तै उत्कृष्ट सर्भर न्यू होराईजनका अस्मन पुलामी, उत्कृष्ट डिफेण्डर मनकामना भलिबलका टेमन थापा, उत्कृष्ट सेटर मामा भान्जा युनाईटेडका देवेन्द्र परियार, उत्कृष्ट स्पाईकर मनकामना भलिबलका जीवन गुरुङ र उत्कृष्ट ब्लकर मामाभन्जा युनाईटेडका चिरन खड्का घोषित भएको छ । विद्यागत तर्फ उत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विद्यामा जनही पाँच/पाँच हजार प्रदान गरिएको हो । दशै तिहार लगाएतका पर्वहरुको अवसरमा मण्डली स्पोर्टस क्लवको खेल मैदान पूर्वखोला–१ सिलुवामा प्रतियोगता भएको थियो ।
प्रतियोगिताको विजेताहरुलाई राष्ट्रिय कलाकारहरु सहितको उपस्थितिमा भएको सांस्कृतिक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको थियो । मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अन्तप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य सन्दीप रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी राना,पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, क्लवका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले पुस्कार हस्तान्तरण गर्नु भएको थियो ।
प्रमुख अतिथी रानाले कार्यक्रममा सम्बोधन गर्दै मण्डली कपले खेल क्षेत्रको उत्थान संगै विश्व प्रसिद्ध रुदे चुरा मण्डली बराजु संगै पाल्पाको पहिचानलाई देशभर फैलाउन महत्वपूर्ण टेवा दिएको बताउनुभयो । साथै खेलको माध्यम बाट पर्यटनमा समेत टेवा दिएको बताउँदै उहाँले अन्य क्लवहरुले मण्डली स्पोर्टस् क्लवको अनुसरण गर्न आग्रह गर्नुभयो । जनताले गरेको विश्वासलाई आत्मसात गर्दै पाल्पाली जनताको समस्या समाधानका लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेल संगै समाज रुपान्तरणमा क्लवले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । युवाहरुको सक्रियता र स्थानीयको साथले मण्डली कप पूर्वखोला संगै पाल्पाको पहिचानको रुपमा स्थापित भएको बताउनुभयो ।
समाजसेवी हजुलदिन मियाँले क्लवले दिएको योगदानको चर्चा गर्दै मण्डली कपको लागि आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको अवसरमा राष्ट्रिय लोकदोहोरी गायक राजु परियार, गायिका भावना अर्याल, लोकदोहोरी गायक तोया कुमार विक र श्रीकृश कला केन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । क्लवका सल्लाहाकार बालकृष्ण पंगेनीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद पंगेनीले गर्नु भएको हो ।
खेल अवलोकनका लागि पुगेका दर्शकहरुको बाक्लो उपस्थितिले खेलमैदान भरिएको थियो । प्रतियोगिताको अवसरमा कौरानाच, पञ्चेबाजा सहितका झाँकी प्रदर्शन भएको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend