रामपुरमा जनप्रतिनिधीका लागि काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी सम्बन्धी तालिम प्रदान

पाल्पा, पाल्पाको रामपुरमा जनप्रतिनिधीहरुको लागि काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी, प्रदेश बाँकेले जिल्लाको ५ वटा स्थानीय तहका वडा अध्यक्षहरुलाई स्थानीय सरकार सञ्चालन ऐन बमोजिम जनप्रतिनिधीहरुको लागि काम कर्तव्य अधिकार तथा जिम्मेवारी सम्बन्धी तालिम प्रदान गरेको हो ।

गत सोमबार देखि बुधबार सम्म सञ्चालन भएको तालिममा तालिममा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र माथागढी गाउँपालिका भित्रका ३६ वटै वडाका वडा अध्यक्षहरुको सहभागीता रहेको थियो । तालिम समापनको अवसरमा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले निर्वाचित भएर जुन सुकै दल बाट आए पनि कानुनले प्रदान गरेको व्यवस्था अनुसार सबैलाई समान व्यवहार गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । तालिमले छलफलको माध्यम बाट समस्या समाधानको उपाय खोज्न र असल अभ्यास आदन प्रदान बाट प्रभावकारी विकास संगै सेवा प्रवाहमा सहज हुने बताउनुभयो । साथै उहाँले तालिममा सिकेका ज्ञानको उच्चतम प्रयोग गरी सुशासन सहितको समृद्ध स्थानीय सरकार निर्माणको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका सुशासन समितिका संयोजक एवं वडा नं. ६ का वडाअध्यक्ष दिवाकर देवकोटाले स्थानीय तहहरुमा देखिएका समस्याहरु नयाँ तरिका अपनाएर सहज रुपमा समाधान गर्न सकिने बताउनुभयो । उहाँले फरकपनको विचमा एकता कायम गर्न सकेमा संघिय लोकतन्त्रिक गणतन्त्रको औचित्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो । समयसमयमा यस्ता तालिमहरुको अवश्यकता रहेको उल्लेख गर्नुभयो । निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले असल अभ्यास आदन प्रदानको माध्यम बाट पृथक कार्य गर्न उत्प्रेरणा प्राप्त हुने बताउनुभयो । निस्दी गाउँपालिकाले चालेका नयाँ कदमहरुको बारेमा जानकारी दिदै उहाँले तालिमले स्थानीय तहमा देखिएका समस्या समाधानमा सहजता प्रदान गरेको बताउनुभयो ।

होटल न्यू श्रीनगरको सभाहलमाभएको तालिममा स्वतन्त्र विज्ञ हरगोविन्द पाण्डे र बाबुराम भट्टराईले स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको संविधानप्रदत्त अधिकार, जनप्रतिनिधीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीको बारेमा जानकारी दिदै स्थानीय सरकार सञ्चालन र सेवा प्रवाहको क्रममा देखिएका समस्या समाधानको उपायका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

प्रदेश स्तरिय सुशासन सहयोग कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अभियान सहित तालिम सञ्चालन भैरहेको जानकारी दिदै पूर्वाधार विकास विज्ञ इन्जिनियर सञ्जु थापा श्रेष्ठ पाल्पाको तानसेन र रामपुर तालिम भएको बताउनुभयो । पाल्पाको १० स्थानिय तह मध्ये पश्चिमका ५ वटा पालिकाको ४५ वडाका जनप्रतिनिधिलाई तानसेनमा र पूर्वका ५ पालिका भित्रको ३६ वडाका जनप्रतिनिधिहरुलाई रामपुरमा तालिम प्रदान गरिएको प्रदेश सुशासन केन्द्रका अधिकृत कृष्ण विष्टले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?