रामपुरमा लोक भजन प्रतियोगिता हुँदै

पाल्पा, रामपुर नगरपालिका–६, पाल्पामा खुल्ला लोक भजन प्रतियोगिता  हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा लोक भजन संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि आगामी फागुन २ गते प्रतियोगिता हुने भएको हो ।

       रामपुर भजन किर्तन मण्डलीको आयोजना र रामपुर नगरपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । रामपुर भजन किर्तन मण्डलीले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । लोक भजन संस्कृति हराउँदै गैरहेको सन्दर्भमा संस्कृतिको संरक्षण र प्रवद्र्धन संगै पुस्ता हस्तान्तरणका लागि प्रतियोगिता हुन लागेको रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालले जानकारी दिनुभयो । रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले लोक सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ वडाले आर्थिक वर्षमा एक लाख पचास हजार विनियोजन गरेको बताउनुभयो ।

    पत्रकार सम्मेलनमा रामपुर नगरपालिका ६ का वडा सदस्य एवं कार्यपालिका सदस्य शारदा आचार्य लगायतले फागुन २ गते हुन गईरहेको लोक भजन प्रतियोगितात्मक कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । निर्णायक मण्डलका संयोजक लेखनाथ शर्मा मरासिनीले प्रतियोगिताको नियमको बारेमा जानकारी दिदै एक समुहमा ७ जना हुनुपर्ने, प्रस्तुतिको समय १५ मिनेटको रहने र टिम दर्ता निःशुल्क रहेको जानकारी दिनुभयो । पत्रकार बासुदेब ढकाल, सामुदायिक रेडियो रामपुरका शोभाकान्त पाठक, पृथ्वी टेलिभिजनका मनोज भुजेल लगायतले लोक भजन प्रतियोगिता सम्पन्न गर्न सञ्चार क्षेत्रको तर्फमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमश नगद १५ हजार,१० हजार, पाँच हजार र दुई हजार पाँच सय सहित प्रमाण पत्र प्राप्त गर्नेछ । रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पुरुषोत्तम ढकालले संचालन गर्नुभएको थियो । प्रतियोगिता रामपुर–६, प्याकलुक, पूर्वटार राधाकृष्ण मन्दिरको परिसरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?