पाल्पा , आधारभूत माध्यमिक विद्यालय रामपुर ७ डुम्रिगाँउ पाल्पाले आफ्नो ३५ औँ बार्षिक उत्सव मनाएको छ । विद्यालयले विविध कार्यक्रमका साथ आफ्नो बार्षिक उत्सव मनाएको हो । वाार्षिक उत्सवकै अवसरमा विद्यालयमा नवनिर्मित ३ तले ९ कोठे पक्कि भवनको उद्घाटन समेत गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ शिक्षा मार्फत द साउदी फण्ड फर डेभलपमेन्ट प्रोजेक्टको लगानीमा निर्माण सम्पन्न भएको भवनको शनिबार उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विद्यालयमा दिईने शिक्षालाई अब व्यवहारिक शिक्षामा रुपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले विद्यालयमा दिने अहिलेको शिक्षा सैद्धान्तिक र परम्परागत भएको बताउनुभयो । सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षाको महत्व रहेको भन्दै सभामुख घर्तीले जीवन शैली र जीवन सुधार्ने शिक्षा आजको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो हाम्रो जीवनशैली एकातिर छ शिक्षा अर्को तिर छ यो शिक्षाको मोडेल र हाम्रो जिन्दगीको मोडेल फरक फरक छ त्यसैले यो अन्तरविरोधलाई मेट्न प्राविधिक शिक्षा आवश्यक छ । सभामुख घर्तीले फरक प्रसंगमा अहिले देशमा अराजक र उत्सृङ्खल धाराको प्रवृत्ति भएका मानिषका कारण राज्यसत्ता र समाजमा अप्ठ्यारो परिस्थिती सृजना भएको उल्लेख गर्नु भयो । आफुले केही नगर्ने र अरुले राम्रो गरे पनि विरोध गर्ने विगार्ने प्रवृत्तिका तत्वको हावी हुँदै गएकोले अहिलेको व्यवस्थालाई कमजोर पार्ने स्थिती आएको बताउनुभयो । सराकारको कानुन र समाजको नियम नमान्ने अराजक तत्वबाट समाज र व्यवस्थालाई बचाउन जरुरी रहेको बताउनु भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले विद्यालयको शिक्षा अब व्यवहारिक र प्राविधिक धारको हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जब सम्म व्यवहारिक शिक्षा प्रदान गर्न सकिदैन तब सम्म विद्यालय शिक्षाको महत्व नबढ्ने बताउनु भएको छ । यस्तै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अबको शिक्षा उत्पादन र आर्थिक समृद्धि संग जोडिन आवश्यक रहेको बताउनु भएको छ । उहाँले नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्न हरेक विद्यालयले फरक र व्यवहारिक शिक्षा दिनु पर्ने भन्दै यसका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण, नेपाली काँग्रूेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई ,नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मी , नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष याम बहादुर सुनार ,राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष पदम पौडेल , नेपाल सरकारका पूर्व सहसचिव मधुसुदन पोखरेल , विद्यालयका पूर्व अध्यक्ष मकुन्दराज गौतम , दानदाता कृष्ण प्रसाद भट्टराई ,विद्यार्थी मनोज गौतमले बोल्दै विद्यालयको प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले करिब २ करोड ३३ लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक उत्सवका अवसरमा विद्यालयमा भएका विभिन्न प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट शिक्षक सम्मान समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक डोलराज रेग्मीले गर्नु भएको थियो । वार्षिक उत्सव समापन कार्यक्रमका अवसरमा शिक्षक विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।