पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका बीउ कृषकलाई वितरण गरेको हो ।
यस क्षेत्रको हावापानीका लागि उपयुक्त ३ जातका मकैको बीउ वितरण गरेको हो । यस वर्ष धेरै समय खडेरी लागेको र पानी कम परेका कारण मकै उत्पादनमा ह्रास आएको र बीउको अभाव समेत भएकाले कृषकहरुको राहतका लागि मकैको विउ वितरण गरिएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । खडेरीका कारण मकै उत्पादनमा कमी आएको र विउको सहजताका लागि कृषकहरुलाई अनुदानमा मकैको बीउ वितरण गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
नगर प्रमुख थापाले विक्री गर्ने गरी उत्पादन गर्न नसके पनि आत्मनिरर्भर हुने गरी कृषिजन्य वस्तुको उत्पादन गर्न आग्रह गर्नु भयो । साथै उहाँले नगरका हरेक बाँझो जमिनलाई उत्पादनमा प्रयोग गर्नु आवश्यक रहेको बताउनुभयो । कृषिकलाई राहत र प्रोत्सहानका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । उहाँले मकैको उत्पादनमा वृद्धिका लागि नगरपालिकाले उन्नत जातको विउ वितरण गरेको बताउनु भएको छ ।
यस पटक नगरपालिका भित्रका कृषक र कृषि सहकारी गरि ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको विउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताउनुभयो । कृषकहरुलाई मनकामना ३, अरुण २ र रामपुर कम्पोजिट गरि ३ जातका मकैको विउ वितरण गरिएको उहाँले बताउनुभयो । यस अघि नगरपालिकाले काउली ,बन्दा र प्याजको वेर्ना, कृषि सामाग्री र विभिन्न तरकारीको वीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । खाद्यान्न बीउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको बीउ वितरण गरेको हो ।