एसईईमा पाल्पा बाट ४ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने

फाइल तस्विर

पाल्पा, बिहिबार देखि सुरु हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाल्पा बाट ४ हजार १ सय ८२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ४ हजार १० र ग्रेड वृद्धि तर्फ १ सय ७२ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

जिल्लाका दश वटा स्थानीय तहमा रहेका १ सय ३८ विद्यालय बाट २ हजार १ सय ६४ छात्रा तथा २ हजार १८ छात्र एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । सामुदायिक तर्फ १ सय १८ विद्यालयका ३ हजार ६ सय ९५, संस्थागत तर्फ १९ विद्यालयका ४ सय ८७ विद्यार्थी सहभागी हुनेछन् । जसमा प्राविधिक धार तर्फ २ सय ६७ विद्यार्थी रहेका छन् । यस वर्ष सबैभन्दा बढी रामपुर ६ विजयपुर स्थित दरौटी मावि केन्द्र बाट २ सय ८७ जना र सबैभन्दा कम बगनासकाली स्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसइइ परीक्षा दिनेछन्।

कारागार र हिरासत बाट पनि सहभागिता जनाउँदै

परीक्षामा जिल्ला बाट कारागार बाट १ जना र हिरासत बाट १ जना विद्यार्थीले सहभागीता जनाउँदै छन् । न्यू होराईजन परीक्षा केन्द्र बाट सहभागी हुने एक जना परीक्षार्थीलाई जिल्ला कारागार बाटै र महेन्द्रबोधी परीक्षा केन्द्र बाट एक जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासत बाटै परीक्षा दिने व्यवस्था मिलाईएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।

सहभागी विद्यार्थी संख्या घट्दै

जिल्लामा पछिल्लो वर्ष एसईईमा सहभागी विद्यार्थी संख्या घट्दै भएको छ । पाँच वर्षको तथ्याङ्क अनुसार परीक्षामा सहभागी विद्यार्थी संख्या घट्दै गएको देखिएको हो । गत वर्ष पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी हुनेछन् । २०७६ सालमा ५ हजार १८ विद्यार्थी एसईईमा सहभागी भएकोमा अहिले सम्म आउँदा ४ हजार १ सय ८२ जनामा सिमित देखिएको छ । २०७७ मा ४ हजार ८ सय ८४ जना, २०७८ मा ४ हजार ७ सय ८२ जना र २०७९ मा ४ हजार ५ सय ५४ जनाले सहभागिता जनाएका थिए । विद्यार्थीको संख्या क्रमश घट्दै जानुमा जनसंख्या वृद्धिदर घट्दै जानु र बसाईसराई मुख्य रहेका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

परीक्षाको तयारी पुरा

जिल्लामा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको इकाई प्रमुख सुवेदीले बताउनुभयो । जिल्ला सदरमुकाममा ६ वटा र अन्य स्थानमा २१ गरी २७ वटा केन्द्रमा सञ्चालन हुने परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि तयारीको सम्पूर्ण कार्य सकिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षाको लागि २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्षय, दुई सय १० जना निरीक्षक, ४० जना परीक्षा सहायक, ८४ जना कार्यालय सहयोगी तथा ४ सय १० जना सुरक्षाकर्मी खटिने छन् । साथै शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले परीक्षालाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि आआफ्नो क्षेत्र बाट सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

सबै परीक्षा केन्द्रहरुको वातावरण सुरक्षित र व्यवस्थित बनाईएकाले उच्च मनोबलका साथ परीक्षाको मर्यादा भित्र रही सहभागी हुन परीक्षार्थीहरुलाई अपिल गरेको छ । परीक्षाको स्थानीय तह संगै जिल्ला परीक्षा समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारी, शिक्षकका पेशागत संघ संस्था, प्याव्सनका पदाधिकारीहरु बाट अनुगमन समेत गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?