पाल्पा , रामपुर नगरपालिकाले नगर भित्रका सबै विद्यालयहरुलाई प्राथमिक उपचार बाकस वितरण गरेको छ । नगर भित्रका विद्यालयको प्रधानाध्यापकहरुको बैठकको अवसरमा बिहीबार नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका ६० वटा विद्यालयलाई प्राथमिक उपचार बाकस वितरण गरेको हो ।
प्रधानाध्यापकहरुलाई सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विद्यालय समयमा कुनै विद्यार्थीमा स्वास्थ्य समस्या आएको खण्डमा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बक्स प्रदान गरिएको जानकारी दिनुभयो । विद्यालयमा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालयहरुलाई सामाग्री वितरण गरिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि संगै रामपुर नगरपालिकाले अवलम्बन गरेको शैक्षिक नीति र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा समन्वय र सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले रामपुर नगरपालिकाको विनियोजित बजेट मार्फत सामाग्री वितरण गरिएको जानकारी दिदै व्यवहारिक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले सामाग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापकहरुकाे बैठकमा विद्यालयले गरेका नविनतम कार्य तथा गतिविधि र शैक्षिक सुधार सम्बन्धी विभिन्न विषयमा छलफल भएकाे थियोे ।
रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालकाे अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । नगर सभाहलमा भएकाे कार्यक्रमकमे संचालन नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नु भएको थियोे ।