रामपुर नगरपालिका भित्रका स्थायी शिक्षकहरुलाई  एक दिने अभिमुखिकरण प्रदान


पाल्पा, शैक्षिक सुधार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यरक्रम रामपुर नगरपालिका पाल्पामा शनिबार  सम्पन्न भएको छ । रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका स्थायी शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै नेपाल सरकारका सचिव डाक्टर हरि प्रसाद लम्सालले राजनितिक भय र खिचातानीका कारण विद्यालय शिक्षामा सुधार हुन नसकेको बताउनुभयो । उहाँले विद्यालयका शिक्षकमा शिक्षा भन्दा पनि राजनितिक प्रभाव हावी भएका कारण शैक्षिक अवस्था खस्कदोँ अवस्थामा पुगेको बताउनुभयो ।डाक्टर लम्सालले  विभिन्न भयका कारण शिक्षकहरु आफ्नो सुरक्षाका निम्ती कुनै न कुनै दल र संघ संगठनमा आबद्ध भएका कारण शिक्षा क्षेत्र प्रति नकारात्मक भाष्य सिर्जना भएकाे भन्दै यसलाई चिर्न आवश्यक रहेको औँल्याउनुभयो  । विद्यालय शिक्षा सुधारका लागि राजनीतिक बहस भन्दा पनि शैक्षिक बहस गर्नु पर्नेमा जोड दिनुभयो ।

सचिव डाक्टर लम्सालले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई कुनै पनि कार्यकारी पद वा लाभको पदमा नबस्न आग्रह समेत गर्नुभयो । उहाँले सबै शिक्षकले आफ्नो पेशा प्रतिकाे धर्म पूर्ण रुपमा निभाउनु पर्ने भन्दै विद्यालयको सुधारका लागी शिक्षकहरु आफै लाग्नु पर्ने बताउनुभयो । लम्सालले हरेक शिक्षकले बदलिंदो समय संगै प्रविधिको प्रयोग र शिक्षण सिकाईको शैली फरक बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले नगरको शैक्षिक विकासका लागि हरेक विद्यालयको महत्व दिने खालका विषय सञ्चालन गर्नु पर्ने उल्लेख गर्दैै सहकार्य , समन्वय र सहअस्तित्व कायम गरेर अगाडी बढ्न आग्रह गर्नु भएको छ ।

दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको शैक्षिक उन्नयनका लागि प्रतिबद्ध भएर कक्षा शिक्षण गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले भौतिक विकासले मात्र नगरको विकासले पूर्णता नपाउने भन्दै मास्तिष्कको विकासका लागि विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्नु पर्नेमा जाेड दिनुभयो । “भौतिक पूर्वाधारको विकास भए पनि जब सम्म सकारात्मक सोच सहितको मस्तिष्कको विकास हुँदैन तब सम्म नगरपालिकाको समग्र विकासले पूर्णता पाउँदैन ” नगर प्रमुख थापाले भन्नुभयो ।उहाँले  मस्तिष्कको विकास शिक्षक बाहेक अरुले गर्न नसक्ने भन्दै नैतिकवान नागरिक बनाउनका लागि विद्यालय शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममासामाजिक विकास समितिका संयोजक सिमादेवि थापाले हरेक विद्यालयको शैक्षिक गुणस्तर स्तरीय बनाउनका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने भन्दै भोलीको रामपुर नगरपालिका कस्तो बनाउने हो सोही तवरले लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालय सुधार र कार्य सम्पादन मूल्याङ्कन सम्बन्धि सहजिकरण गर्नु भएको थियो ।

दरैठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकारका सचिव डाक्टर हरि प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समिति संयोजक सिमादेवि थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका भित्रका स्थायी शिक्षकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?