पाल्पा, निस्दी गाउँपालिकाका विद्यालयहरुमा अभिभावक शिक्षा कार्यक्रम चलिरहेको छ । आफ्ना बाबुनानीको शिक्षाको लागि थप सचेत बनाउन गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।
शुक्रबार गौरीशंकर माध्यमिक विद्यालयमा कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख अातिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सारुले गुणस्तरीय शिक्षाको लागि विद्यालय र गाउँपालिका मात्र लागेर नहुने भएकाले अभिभावक जागरुक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अभिभावक सचेत नहुँदा सम्म शिक्षा क्षेत्रमा जति लगानी गरे पनि उपलब्धी प्राप्त हुन नसक्ने बताउँदै अाफ्ना बाबुनानीको शिक्षाको लागि सोच्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नर बहादुर थापाले बालविकास, बाल मनोविज्ञान र असल अभिभावकको सूचकको बारेमा जानकारी गराउनु भएको थियो । साथै निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुश्माखर पाण्डेले बाल विवाहको असर र प्रभाव सहित नेपालको संविधान र बालबालिका ऐन २०७५ ले सुनिश्चित गरेको बाल अधिकार र कानुनी व्यवस्था बारे बताउनु भएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीको स्वागत बाट सुरु भएको थियो ।
नयाँ शैक्षिक सत्र सुरु भए संगै निस्दी गाउँपालिकाले हाल सम्म २४ विद्यालयमा अभिभावक शिक्षा सञ्चालन गरिसकेको छ । अन्य विद्यालयहरुमा पनि क्रमश कार्यक्रम सञ्चालन गरिने गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
यस्तै निस्दी गाउँपालिकाका ७ वटै वडामा शुक्रबार प्राथमिक तह स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बालमैत्री शाखाको बाल क्लव सहयोग कार्यक्रम अन्तर्गत सात वटै वडामा कार्यक्रम भएको हो । वडा नं. १ राधाकृष्ण माविमा भएको प्रतियोगितामा प्रथम सरस्वती प्रावि, द्वितीय बालहित प्रावि र तृतीय भगवती प्रावि भएको छ । वडा नं. २ को अंशुवर्मा माविमा भएको कार्यक्रममा प्रथम अंशुबर्मा मावि, द्वितीय भाङबारी प्रावि र तृतीय बालहित मावि, वडा नं. ३ को लक्ष्मी प्राविमा भएको प्रतियोगितामा प्रथम लक्ष्मी प्रावि, द्वितीय जनक आवि, तृतिय नवदुर्गा प्रावि, वडा नं. ४ को गौरीशंकर माविमा भएको कार्यक्रममा प्रथम जीवनज्योति आवि, द्वितीय जनप्रिय मावि, तृतिय गौरी शंकर मावि, वडा नं. ५ को सरस्वती माविमा भएको प्रतियोगितामा प्रथम सरस्वती मावि, द्वितीय राईकोट आवि र तृतीय जनता मावि भएको छ । वडा नं. ६ को गोरखना मावि अर्चलेमा प्रतियोगिता भएको थियो । जसमा प्रथम गोरखनाथ मावि, द्वितीय सिन्दुर आवि र तृतीय अकला आवि, वडा नं. ७ को जनप्रिय माविमा भएको प्रतियोगितामा प्रथम सरस्वती मावि, द्वितीय सेरोदेवी प्रावि र तृतीय जनप्रिय मावि भएको छ ।
छनौट चरणको प्रतियोगिता पश्चात २१ विद्यालयको उपस्थितिमा जेठ ३२ गते प्रतियोगिता हुनेछ । साथै कार्यक्रममा मवि तहको वक्तृत्वकला समेत रहने छ ।