
बुटवल , छोरी शिक्षाका लागी पूर्वी पाल्पा समाज रुपन्देहीले अभियानको थालनी गरेका छन् । विभिन्न कारण अध्ययन गर्न नसकेका छोरीहरुलाई शिक्षा प्रदान गर्नका लागि समाजले अभियानको थालनी गरेका हुन् । समाजले यसका लागि समाजले शुक्रबार बुटवलको रुपन्देहीमा छोरी शिक्षा अक्षयकोष स्थापनार्थ सांगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ ।
अक्षयकोष स्थापनाका लागि शुक्रबार भएको सांगीतिक साँझ कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भौतिक विकासले भन्दा शैक्षिक र चेतनाको विकासले मात्र समृद्धि सम्भव रहेको बताउनुभयो । जति भौतिक विकास भए पनि जब सम्म मानिसमा चेतना र शैक्षिक विकास हुँदैन तब सम्म कुनै पनि विकासले सार्थकता नपाउने बताउनéयो । विषेश गरि छोरी शिक्षाको महत्व अझ बढि भएको भन्दै आर्थिक र सामाजिक कारण शिक्षाबाट बञ्चित हुन नदिनका लागि समाजले शुरु गरेको अभियान आवश्यक र महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । साथै जन्मथलो रामपुर भई हाल बसाइ फरक भए पनि रामपुर नगरपालिकाको विकास र समृद्धिका लागि समाजले गरेको कामको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पूर्वी पाल्पा समाज रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठले रामपुर बाहिर रहे पनि रामपुरको प्रचार प्रसार र विकासका लागि आफुहरु संधै लागि रहने बताउनुभयो । साथै उहाँले जब सम्म छोरीहरुको शिक्षाको सुनिश्चितता हुदैन तब सम्म सक्षम नहुने भन्दै यसका लागि अभियानको रुपमा थालनी गरिएको बताउनुभयो । शैक्षिक अध्ययन पुरा गर्न नसक्ने छोरीहरुको अविभावकत्व ग्रहण गरेर उज्वल भविष्य निर्माण गर्नका लागि छोरी शिक्षा अक्षयकोष मार्फत सहयोग प्रदान गर्ने समाजको लक्ष्य रहेको पूर्वी पाल्पा समाज रुपन्देहीका महासचिव भोजराज न्यौपानेले जानकारी दिनुभयो ।
अक्षयकोष स्थापनार्थ समाजले गरेको सांगीतिक साँझमा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी , समिक्षा अधिकारी, मञ्जु भट्टराई लगायतका कलाकारहरुको साँगितिक प्रस्तुति रहेको थियो । पूर्वी पाल्पा समाज रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । दियालो फुड ल्याण्ड कालिका नगर बुटवल रुपन्देहीमा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव भोजराज न्यौपाने र नारायण लेकालीले गर्नु भएको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend