रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु

मंसिर ११ ।
पाल्पा, रामपुर नगरपालिका लोकसेवा आयोग तयारी कक्षासुरु भएको छ । रामपुर नगरपालिकाको आयोजनामा मंगलबार देखि निःशुल्क दुई महिने लोक सेवा आयोग तयारी कक्षा सुरु भएको हो ।

तयारी कक्षाको रामपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गरी शुभारम्भ गरिएको थियो । कक्षाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले उच्च मनोबलका साथ अध्ययन गरे सफलता प्राप्त गरिने उल्लेख गर्नुभयो । साथै लगनशीलता र मेहेनतका साथ निरन्तर रुपमा अध्ययन गर्न आग्रह गर्नुभयो ।लाेक सेवा आयाेगले क्षमता अनुसार सबैलाई समान अवसर प्रदान गर्ने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका प्रशासन अधिकृत एवं लोक सेवा आयोग तयारी कक्षाका संयोजक युवराज पन्थीले कार्यक्रमको बारेमा प्रष्ट पार्दै लोक सेवा आयोगको तयारीका लागि ज्ञान सीप र तरिका सिकाइने बताउनुभयो ।

शहीद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति ल्याकत अलीले लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्नका लागि आवश्यक सिप प्रदान गर्न नगरपालिकाले लगानी गरेको र यो अवसरको भरपुर सदुपयोग गर्न उहाँले अनुरोध गर्नुभयो । अन्य जिल्लाहरुको तुलनामा पाल्पाका राष्ट्रसेवक कर्मचारी कम रहेको भन्दै त्यसलाई वृद्धि गर्नका लागि लोक सेवा आयोगमा प्रवेश गर्नु पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियोे ।

लोकसेवा आयोग तयारी कक्षामा ७३ जनाको सहभागीता रहेको छ । रामपुर नगरपालिकाले केही वर्ष देखि निरन्तर रुपमा निशुल्क लाेक सेवा आयाेग तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?