पुस ६ ।
पाल्पा, सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–५, पाल्पाको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार राधादामोदर रेशम सभाहलमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका कार्यवाहक अध्यक्ष मोहन सिं रानाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका जेष्ठ शेयर सदस्य दिलमाया रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी रेग्मीले दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । संस्थाका सल्लाहाकार संयोजक एवं संस्थापक अध्यक्ष लेखनाथ रेग्मीले ६८ जना संस्थापक शेयर सदस्यहरु बाट सुरुवात भएको सहकारी निरन्तर प्रगति गर्दै गैरहेको बताउनुभयो । शेयर सदस्यहरुको विश्वास र साथले संस्था वर्तमान अवस्थामा आईपुगेको स्पष्ट पार्दै छरिएर रहेका पुँजी संकलन गरी आर्थिकस्तर वृद्धिका लागि सहकारीले सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा रामपुर ५ का वडा सदस्य युवराज शाहीले सहकारीले स–साना पूँजी संकलन गरी बचत गर्ने बानीको विकास गरेको बताउनुभयो । रामपुर–४ का वडा सदस्य मोहम्मद अजिम शेखले सहकारीको मुख्य आधार शेयर सदस्य रहेको भन्दै शेयर सदस्य मैत्री नीति अवलम्बन गर्दै अघि बढ्न सुझाव दिनुभयो । रामपुर ६ का निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपाने हाम्रो देश कृषि प्रधान देश भएकाले सहकारीहरुले कृषि क्षेत्रमा पनि लगानी गर्नु आवश्यक रहेको बताउनुभयो ।
संस्थाका कार्यसमिति सदस्य विष्णु प्रसाद आचार्यले सहकारीको उत्थानका लागि शेयर सदस्यहरु सबैले अपनत्व ग्रहण गर्नु आवश्यक रहेको बताउनुभयो । सल्लाहाकार सदस्य एवं रेडियो पाल्पाका अध्यक्ष अर्जुन प्रसाद रेग्मीले सहकारीको उत्थानमा शेयर सदस्यहरुको सक्रियता खाँचो रहेको बताउनुभयो । सल्लाहाकार सदस्य मनीराज अधिकारीले सहकारीमा महिला सदस्यहरुको बाहुल्यता रहेको र महिला कै नेतृत्वमा रहेको सहकारीलाई नमुना सहकारीको रुपमा स्थापित गर्न सबैको साथको खाँचो रहेको बताउनुभयो ।
लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु प्रसाद रेग्मीले संस्थाको वित्तिय अवस्था मजबुत रहेको बताउनुभयो । लेखाप्रणाली व्यवस्थित रहेको जानकारी दिनुभयो । उहाँले सहकारीलाई वर्तमान अवस्थामा ल्याउन सेयरधनी संगै कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । शिक्षा उपसमितिका संयोजक दिपेन्द्र भट्टराईले शैक्षिक क्षेत्रमा पनि सहकारीले कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा रामपुर नगर शिक्षा समितिका सदस्य एवं शेयर सदस्य सावित्रा गौतम, बालकल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र प्रसाद काफ्लेले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष मोहन सिं रानाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सहकारीलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको जानकारी दिनुभयो । साधारण सभाको अवसरमा संस्थाका कोषाध्यक्ष दिपकराज लम्सालले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३१ लाख ४० हजार ३२३ रुपैयाँ संस्थाले खुद नाफा गर्न सफल भएको जानकारी दिनुभयो ।
कार्यक्रममा गत वर्ष एसईईमा सवोत्कृष्ट अंक ल्याउने ग्रष्म रेग्मी, जेष्ठ सदस्य दिलमाया रेग्मीलाई सम्मान गरेको थियो । कार्यक्रममा असल ऋणी मध्ये देउमाया सुनार, नियमित बचत कर्ता हेमा जिटी, बाल बचत कर्ता सम्रिना शाहीलाई पुरस्कृत गरेको थियो । साथै संस्थाले शेयर सदस्य स्वर्गीय खगीसरा खड्का, लक्ष्मी गैरेलाई मरणोपरान्त सम्मान गरेको छ । साथै साधारण सभाको अवसरमा शेयर खरिद गर्ने सदस्यहरुलाई समेत सम्मान गरेको थियो ।
सञ्चालक समितिका सदस्य विष्णु प्रसाद गौतमको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर रानाले गर्नु भएको थियो । रामपुर नगरपालिका वडा नं. ३, ४, ५, ६ र ७ लाई कार्यक्षेत्र बनाएर सेवा दिदै आएको सहकारीमा अहिले ९ सय १२ जना शेयर सदस्य आवद्ध रहेको छ । रामपुर ५ मटेरी स्थित कार्यालय बाट सेवा दिदै आएको सहकारीको शेयर पूँजी एक करोड ४२ लाख ८२ हजार रहेको छ भने कुल पूँजी नौ करोड ६७ लाख २८ हजार ४०२ पुगेको छ ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend