माघ १८ ।
पाल्पा, गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटार पाल्पाको ४६ औँ वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालयले विविध कार्यक्रमको आयोजना गरी शुक्रबार स्थापनाको ४६ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक दिवस मनाएको हो ।
वार्षिक उत्सवको एक कार्यक्रमका विच समापन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर ज्ञवालीको अध्यक्षतामा भएको समापन कार्यक्रम रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वास्तविक व्यवहारिक र संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।उहाँले अब हरेक विद्यालयमा समय सुहाउँदो ,व्यवहारिक रसिपमूलक शिक्षा प्रदान गर्न जरुरी रहेको बताउनुभयो । साथै साना साना बालबालिकाको भविष्य विद्यालयमा पढाउने शिक्षकको हातमा रहेको भन्दै इमान्दार र लगनशीलताका साथ अध्यापन गराउनु आग्रह गर्नुभयो । नगरपालिकाले भौतिक विकास भन्दा सामाजिक विकास महत्वपूर्ण हुने भएकाले नगरपालिकाले सामाजिक क्षेत्र अन्तरगत शिक्षामा लगानी बढाएको बताउनुभयो ।
विद्यार्थीहरुलाई किताबी ज्ञान संगै बाहिरी ज्ञान आवश्यक पर्ने भएकाले विभिन्न कार्यक्रम विद्यालयमा लागु गरेको उल्लेख गर्नुभयो ।यसैगरी कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यले नमुना विद्यालयको रुपमा विकास गर्न सबैको भूमिका महत्वपूर्ण हुने भन्दै विद्यालयको शैक्षिक सुधारका लागि सबै लाग्नु पर्ने बताउनुभयो । साथै उत्कृष्ट विद्यालय बनाउनका लागि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले दक्ष जनशक्ति र सक्षम नागरिक उत्पादनका लागि विद्यालयले सञ्चालन गर्ने कार्यक्रमलाई परिस्कृत गर्दै लैजान आवश्यक रहेको औँल्याउनुभयो ।
साथै शैक्षिक गुणस्तर वृद्धिका लागि सबै एक भएर लाग्न आग्रह गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले गंगा माध्यमिक विद्यालय समुदायको राम्रो सहभागीले यस क्षेत्रकै उत्कृष्ट विद्यालय भएको भन्दै सामुदायिक विद्यालयको अवधारणालाई पूरा गरेको उल्लेख गर्नुभयो । साथै उहाँले शिक्षा ऐन तथा कार्यविधिलाई टेकेर विद्यालय सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल सरकारका पुर्व सहसचिव कृष्ण प्रसाद पौडेलले अबको आवश्यकता शिक्षाको गुणस्तरलाई कसरी बढाउन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।यसका लागि शिक्षकहरुले समर्पण भावका साथ अध्यापन गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष धरम बहादुर आचार्य , नरनारायण अर्याल ,आधारभूत माध्यमिक विद्यालयका अध्यक्ष कमलराज भट्टराई ,विद्यार्थी विष्णु भण्डारी र श्रेया आचार्यले विद्यालयको शैक्षिक विकासका लागि शिक्षक विद्यार्थी र अभिभावक एक भएर लाग्न आवश्यक रहेको भन्दै विद्यालयको प्रगतिको कामना सहित शुभकामना दिनु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचनाका हिसाबले विद्यालय सुविधा सम्पन्न रहेको भन्दै संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रममा विद्यालयका लेखापाल सुनिल कुमार आचार्यले २ करोड ४४ लाख २५ हजार २० रुपैयाँ ८ पैसा बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिकोत्सबको अवसरमा भएको विभिन्न प्रतियोगितामा विजयी समूहलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै उत्कृष्ट शिक्षक सम्मान सहित विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बद्री घिमिरेले गर्नु भएको थियो ।


© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend