फागुन २ ।
पाल्पा, रामपुरमा सामुदायिक विद्यालयका शिक्षकहरुको लागि दुईदिने सूचना सञ्चार तथा प्रविधि सम्बन्धी तालिम सुरु भएको छ । रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकहरुको लागि तालिम सञ्चालन गरिएको हो ।
रोटरी क्लव अफ रामपुर पाल्पाको आयोजना, रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा सुरु भएको तालिमको शुक्रबार एक समारोहका विच समुद्घाटन गरिएको छ । रोटटरी क्लव अफ रामपुरका अध्यक्ष कृतिनाथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आईसिटीको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । रामपुर नगरले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको बताउनुभयो । कतिपय विद्यालयमा रहेका सूचना प्रविधि सम्बन्धी उपकरणहरु सीपको अभावमा प्रयोग विहिन भैरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
रोटरी क्लव अफ रामपुरका पूर्व अध्यक्ष रुद्रनारायण श्रेष्ठले रोटरी क्लव नितान्त सामाजिक संस्था भएको बताउँदै स्थापना पश्चात क्लवले स्थानीय सरकार संगै विभिन्न संघ संस्था संग सहकार्य गरेर कार्यक्रम गर्दै आएको बताउनुभयो । रोटरी क्लव अफ रामपुरका अध्यक्ष कृतिनाथ श्रेष्ठले क्लवले निकट भविष्यमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालनको लागि पहल गरिरहेको जानकारी दिनुभयो । तालिम शुभारम्भ कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर नगरपालिकाका निमित्त प्रमुख चेमन प्रकाश पोखरेल, शिक्षा शाखा प्रमुख विकल काफ्ले, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल लगाएको उपस्थिति रहेको थियो । रामतुलसी माविको सभाहलमा भएको तालिम शुभारम्भ कार्यक्रम रोटरी क्लव अफ रामपुर पाल्पाका प्रेसिडेण्ट इलेक्ट गोविन्द प्रसाद देवकोटाको स्वागत र सचिव कृष्ण प्रसाद भट्टराईको सञ्चालनमा भएको हो ।
रामतुलसी माविको आईसिटी ल्याबमा भैरहेको तालिममा रामपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक मावि विद्यालय, निस्दी, रम्भा र पूर्वखोला गाउँपालिकाका केही विद्यालयका आईसिटी शिक्षकहरुको सहभागीता रहेको छ । तालिमको सहजिकरण जीवन आचार्य र चन्द्र प्रकाश भट्टराईले गरिरहनु भएको छ ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend