शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

मगर समुदायमा घाटु नाच प्रर्दशन (फोटोफिचर)





वैशाख ३१ ।

पाल्पा, मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पाको बस्तीहरुमा यस वर्ष पनि स्थानीयले घाटु नाच प्रदर्शन गरीएको छ । वैशाख पूर्णिमा देखि बुधबार सम्म पाल्पाको निस्दी र पूर्वखोलाका विभिन्न स्थानमा घाटु नाच प्रदर्शन पश्चात विधि पूर्वक सेलाइएको छ ।

सदियौं देखि सुरु भएको घाटु अधिकांश स्थानमा लोप भए पनि जिल्लाको पूर्वी क्षेत्रका केही स्थानमा कायम नै रहेको छ । निस्दी–७, को ज्यामिरेमा पूर्णिमाको दिन घाटु सेलाईसके पनि सोमबार देखि निस्दीको वडा नं. ३, ४, ५ का केही टोलहरुमा घाटु नाच प्रदर्शनी गरिएको थियो । सती घाटु वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक सुरु गरिने नाच याहाँ ३ दिन सम्म नचाइन्छ । कथा गीतमार्फत प्रस्तुत गरी घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ ।

तीन प्रकारका घाटु प्रचलनमा रहे पनि यस क्षेत्रमा सती घाटु नाच्ने गर्दछन् । सोमबार देखि सुरु भएको घाटु नाच बुधबार साँझ विधिवत् रुपमा पूजा गरी सेलाईएको हो । घाटु नचाइने स्थानहरुमा अवलोकनका लागि जानेहरुको उपस्थिति बाक्लो देखिएको थियो । देखिन्छ । घाटुका गुरुआमा रहनु भएका निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले पुस्तौंपुस्ता देखि चल्दै आएको घाटु नाचलाई निरन्तरता दिदै आएको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सती घाटु नाचाईदै आएको छ । राजाको निधन पश्चात रानी सती जाने भएकाले सती घाटु भनिएको हो । घाटुको गीतमा परशुराम राजा, यम्पावती रानीको कथा रहेको र यही कथावस्तुलाई आधार बनाई नचाइन्छ । ‘राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र मृत्युसम्मको कथालाई गीत बाट प्रस्तुत गरी घाटु नचाइन्छ ।’ ठाडाले भन्नुभयो ।

गीत संगै कथावस्तुको आधारमा पात्र अनुसार अभिनय पनि गरिन्छ । घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाहरुले गाउने र घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराईकन गाउनुपर्ने भएकाले जो केही गुरुमा बन्न नसक्दा हराउने हो कि भन्ने चुनौति देखिएको छ । जसका कारण कुनै समय जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रदर्शन गरिने घाटु संस्कृति अहिले केही स्थानमा सिमित देखिएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीको दिन गीतको थालनी गरेर चण्डी पूर्णिमाको दिन देखि तीन दिन सम्म निरन्तर घाटु नचाईदै आएको ७५ वर्षीय सर्मौती खाम्चाले बताउनुभयो । गीत मार्फत सम्पूर्ण देवी देवताको नाम लिएर मात्र घाटुको सुरु गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आमाहरु बाट सिकेर निरन्तर घाटु नचाईदै आएका छौं । पछिल्लो समय अन्य समयमा पनि घाटु निकाल्ने गरेको पाइन्छ । तर हामीले वैशाख पूर्णिमा देखि तीन दिन सम्म मात्र घाटु नचाउँछौं ।’ गाउँको राम्रो होस्, कोही कसैलाई केही नहोस् भन्ने कामनासाथ घाटु नाचिने उहाँको भनाइ छ । घाटु नाच्न छाडेमा गाउँमा देवीदेवता रिसाउँछन् भन्ने मान्यता रहेकाले हरेक वर्ष नचाईदै आएको खाम्चाले बताउनुभयो ।

विगत ७ वर्ष देखि घाटु नाच्दै आउनु भएका किशोरी विष्णु माया ठाडाले एक पटक नाचे पछि विवाह नभए सम्म प्रत्येक वर्ष नाच्नु पर्छ भन्ने मान्यता रहेकाले नयाँ पुस्ता सामेल हुन नचाहाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अभिभावकले घाटु नाच्न प्रेरित गर्दै आए पनि गाह्रो हुन्छ भनेर घाटु नाच्न खोज्दैनन् ।’ केही वस्तीहरुमा परम्परादेखि चल्दै आएको घाटु नाच अहिले सम्म देखाईदै आएपनि धेरै गाउँबस्तीबाट लोप भइसकेको छ । समाज उज्ज्वल महिला समूह भोर्माका अध्यक्ष सुमित्रा ठाडाले कन्याहरु आफ्‌नै खर्चमा सजिएर घाटुमा सहभागी हुने गरेको बताउनुभयो । व्यवस्थापनको लागि प्रत्येक घर बाट खर्च जुटाएर संस्कृतिलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं. ३ को दुनीडाँडा, वडा नं. ४ को भोर्मा, मौलाथर, भिरपानी, वडा नं. ७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देविनगर, विरकोट लगाएतका स्थानमा घाटु नचाइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend