जेठ १ ।
पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा सहकारीमा आवद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।
स्थापना दिवसको अवसरमा सहकारीको आफ्नै भवनमा विहिबार कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई नगद एक हजार र सम्मान पत्र सहित दोसला ओढाई सम्मान गरिएको हो । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

जेष्ठ सदस्यहरुलाई सम्मान गर्नु हुँदै प्रमुख अतिथी थापाले जेष्ठ नागरिकहरु जिउँदो भगवान रहेको बताउनुभयो । सहकारीले चालेको कदमको प्रशंसा गर्नुहुँदै उहाँले जेष्ठ नागरिकको मार्गदर्शन र आशिर्वाद विना अन्य कुरा असम्भव रहेको बताउनुभयो । नगरपालिकाले जेष्ठ नागरिकहरुको सम्मानका लागि छिट्टै जेष्ठ नागरिक स्कुल सञ्चालनमा लयाउन लागेको बताउनुभयो । समाजमा नैतिक शिक्षाको खडेरी रहेको वर्तमान अवस्थामा जेष्ठ नागरिकहरुको भुमिका महत्वपूर्णरहने बताउनुभयो ।
रामपुर साकोसका उपाध्यक्ष बाबुराम श्रेष्ठले संस्थालाई यहाँ सम्म ल्याउन जेष्ठ सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई संकार र संस्कृति सिकाउनु आवश्यक रहेको बताउनुभयो । संस्थाका सल्लाहकार नगिलाल पौडेलले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई व्यवस्थित बनाएर निरन्तरता दिन आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले ७५ वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई वार्षि कार्ययोजना अनुसार सम्मान गरिएको जानकारी दिनुभयो । सञ्चालक समिति सदस्य पवित्रा पौडेल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको हो । यस्तै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत आजै रामतुलसी माविमा प्रतिक्षालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

रामतुलसी माविलाई प्रतिक्षालय हस्तान्तरण
यस्तै रामपुर बचत तथा ऋण सहकारीले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय विहिबार स्थापना दिवसको अवसरमा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले विद्यालय प्रति संस्थाले देखाएको सद्भावका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले प्रतिक्षालयले विद्यालयमा आउनुहुने अभिभावक संगै विद्याथी र शिक्षकहरुको लागि महत्वपूर्णटेवा पुग्ने बताउनुभयो । रामपुर साकोसका अध्यक्ष गुरु प्रसाद रेग्मीले ६ लाख ६२ हजार ४४० रुपैयाँको लागतमा प्रतिक्षालय तयार भएको बताउनुभयो । सहकारीले १ लाख ५० रुपैयाँ विनियोजन गरेको थियो । प्रतिक्षालयको लागि आवश्यक काठ राम्चे सामुदायिक वन, गावु डाँडा सामुदायिक वन र सालबोटे सामुदायिक वनले सहयोग गरेको थियो । नगद खर्च १ लाख ८२ हजार ९६० लागेको थियो । अपुग रकम विभिन्न व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु सहयोग मार्फत व्यवस्था गरिएको रेग्मीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend