असार ६ ।
पाल्पा, रामपुरमा शिक्षकहरुको लागि विद्यालय आयुर्वेद एवं योग शिक्षा कार्यक्रम सञ्चालन भएको छ । एघारौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ योग अभ्यास र आयुर्वेद सम्बन्धी अभिमुखिकरण सुरु भएको हो ।
रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा शिक्षकहरुका लागि विद्यालय आयुर्वेद एवं योग शिक्षा प्रदान गरिएको हो । शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष तथा रामपुर आयुर्वेद अस्पताल सञ्चालन समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले स्वस्थ जीवनयापनका लागि योग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सुगर, प्रेसर लगाएतका नसर्ने रोगका विरामी बढ्दै गैरहेको सन्दर्भमा रोगको उपचार योग साधना भएको उल्लेख गर्नुभयो ।
योग हाम्रो सभ्यता संगै संस्कार ,संस्कृति र आध्यात्मसंग जोडिएको भन्दै यसको महत्व र प्रभाव बारे बुझ्न र बुझाउनु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले आयुर्वेद र योगको महत्व बारे विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताउनुभयो । साथै विद्यालय शिक्षणको क्रममा केही समय छुट्याएर भए पनि सामान्य योग विद्यार्थीहरुलाई सिकाउन आग्रह गर्नुभयो ।
यस्तै योग प्रशिक्षक सुदिप गैरेले सरल र स्वस्थ जीवनयापनका लागि योग साधना गर्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका डाक्टर राधिका सुवेदी, बालिका विसि,चेमन प्रकाश पोखरेलले आयुर्वेद सम्बन्धी र योग प्रशिक्षक सुदिप गैरे र भगवति गौतमले योग साधना सम्बन्धी प्रशिक्षण दिनु भएको छ । २ दिने सम्म सञ्चालन हुने कार्यक्रममा रामपुर नगरपालिका वडा नं.१,२,३,४,५,६ र ७ भित्रका माध्यमिक विद्यालयका २१ जना शिक्षकहरुको सहभागिता रहेको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend