साउन ३१ ।
पाल्पा, सीता माध्यमिक विद्यालय रामपुर नगरपालिका सीताकुण्ड पाल्पामा विद्यार्थीहरुको लागि नि:शुल्क भोजनालय शुभारम्भ गरिएको छ । विद्यालयले पूर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शनिबार देखि अन्नपूर्ण भोजनालय सञ्चालनमा ल्याएको हो ।
पवित्र धार्मिक स्थल सीताकुण्ड संगै रहेको विद्यालयले विद्यार्थीहरुलाई दिवा भोजन विद्यालय मै व्यवस्था गर्न श्री कृष्ण जन्माष्टमीको अवसरमा पारेर भोजनालयको शुभारम्भ गरेको हो । कार्यक्रम सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । भोजनालयको शुभारम्भ गर्नु हुँदै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रका रहेका विद्यार्थीहरुलाई खाना खाएर समयमा विद्यालयमा आउन समस्या हुने अवस्थामा भोजनालय सञ्चालनले थप टेवा दिने बताउनुभयो । पेशा व्यवसाय र विविध कारणले जहाँ रहे पनि आफ्नो मातृभूमि र अध्ययन गरेको विद्यालयको शैक्षिक विकासका लागि पूर्व विद्यार्थीहरुले चालेको कदमको प्रशंसा गर्नुभयो ।
रामपुर क्षेत्रको प्रसिद्ध धार्मिक स्थल सीताकुण्ड संगै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संस्कार सहितको व्यहारिक शिक्षा संगै नैतिक शिक्षा र आध्यात्मिक विचार संग जोड्नु आवश्यक रहेको बताउनुभयो । थापाले रामपुर नगरपालिकाको तर्फ बाट भोजनालयको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा सडक, विद्युत तथा खानेपानीका लागि लगानी गर्दै आएको बताउँदै युवाहरुलाई आफ्नो जन्मथलोलाई सधैं मायाँ गर्न आग्रह गर्नुभयो । सीताकुण्डलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन रामपुर नगरपालिकाले विवाह पञ्चमीमा रामघाट र सीताकुण्डलाई जोड्ने गरी धार्मिक कार्यक्रम गर्ने तयारी गरिरहेको बताउनुभयो ।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं पूर्व विद्यार्थी सन्दिप रानाले विद्यार्थीलाई संस्कार सहितको नैतिक शिक्षा प्रदान संगै शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न स्थानमा रहनु भएका पूर्व विद्यार्थीहरुको संयुक्त रुपमा भोजनालय सञ्चालनको लागि पहल गरेको बताउनुभयो । संसारको जुन सुकै स्थानमा पुगे पनि आफ्नो मातृभूमिको प्रतिको दायित्व पुरा गर्न तथा विकासमा साथ दिनका लागि पूर्व विद्यार्थीहरुले साथ दिएको बताउनुभयो । ग्रामीण भेग विद्यार्थीहरु विद्यालय आउनका लागि धेरै समय खर्च गर्नु पर्दा खाना समेत नखाई आउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दैे विद्यार्थीहरुको सहजताको लागि भोजनालय सञ्चालन गरिएको बताउनुभयो । साथै रानाले यस अभियानमा जुट्न समेत पूर्व विद्यार्थी सबैलाई आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले दिवा भोजनले बालबालिकाको शिक्षामा महत्वपूर्ण टेवा दिने बताउनुभयो । साथै उहाँले सीताकुण्ड आफैमा महत्वपूर्ण धार्मिक स्थल रहेको बताउनुभयो । रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले दिवा भोजनलाई दिगो रुपमा सञ्चालनका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । वडाको तर्फ बाट पनि आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद खनालले भोजनालय सञ्चालन संगै विद्यार्थीहरुलाई हरेक दिन विहान ८ बजे देखि १० बजे सम्म संस्कार, संस्कृति संगै नैतिक शिक्षा प्रदान गर्ने, योग तथा ध्यानको अभ्यास गराईने जानकारी दिनुभयो । पूर्वविद्यार्थीहरुलाई शुद्ध शाकाहारी भोजन प्रदान गरिने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक जीवन पराजुलीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । सहायक प्रधानाध्यापक पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर ४ का वडा सदस्य मोहन सिं रानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष थापाले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा विभिन्न महिला समूहले मौलिक तीजगित समेत प्रस्तुत गरेका थिए ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend