असोज २९ ।
पाल्पा, डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव, नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाल्पाको रामपुरमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सम्पूर्ण युथ क्लव तिलोत्तमा रुपन्देहीलाई ६–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ९ औं मिनेट मै युनाईटेड युथका लागि याम प्रसाद बुढा मगरले गोल गर्दै अग्रताको सुरुवात गर्नु भएको थियो । लगतै ३७ औं मिनेटमा युनाईटेडका अनिल रानाले थप गोल गर्नु भएको थियो । ६० औं मिनेटमा लक्षु थापाले युनाईटेडका लागि थप गोल गर्नु भयो । तर ६४ औं मिनेटमा भने सम्पूर्ण युथ क्लवका लागि दर्शन वि.क.ले गोल गर्दै गोल अन्तर घटाउन सफल हुनु भएको थियो ।
त्यसको लगतै ७२ औं मिनेटमा पुन अनिल रानाले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गर्नु भएको थियो । ७८ औं मिनेटमा चुरामणि खाम्चाले थप एक गोल गर्नु भएको थियो । ८४ औं मिनेटमा अनिल राना मगरले ह्याट्रीक पूरा गर्नु भयो । रानाको ह्याट्रीक यस प्रतियोगिता अवधिभर कै पहिलो हो । ह्याट्रीक गर्न सफल युनाईटेड युथका खेलाडी अनिल राना मगरले खेलको म्यान अफ दि म्याच बन्दै नगद ३ हजार प्राप्त गर्नु भएको छ । युनाईटेड कै लक्षु थापाले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधिसगै गिफ्ट ह्याप्पर प्राप्त गर्नु भएको छ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको प्रतियोगितामा युनाइटेड सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो समूह हो । यस अघि आयोजक ज्योतिपुञ्ज युवा क्लव सेमिफाइनलमा प्रवेश गरिसकेको छ । मंगलबार भएको खेलमा भैरब स्पोर्टस् क्लव नवलपरासीलाई २–१ गोल अन्तरले पराजित गर्दै ज्योतिपुञ्जले सेमिफाइनलमा पुगेको थियो । भोलि विहिबार क्वाटर फाइनल अन्तर्गत तेस्रो क्वाटर फाइनल खेलमा ‘ए’ डिभिजन क्लव हिमालयन शेर्पा, काठमाडौ र अभिषेक चर्च रजहर, नवलपुर विचको खेल हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो । रामपुर नगरपालिका ७ किसानबारीमा जारी प्रतियोगितामा १० समूहले भाग लिएका छन् ।
प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनल पराजित टिमलाई २५/२५ हजार प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend