असोज २९।
पाल्पा, पाल्पा रामपुरका भलिबल खेलाडी बिनिता राना नेपाल यू–१९ महिला भलिबल टोलीमा चयन हुनु भएको छ । नेपाल भलिबल संघको आयोजनामा भदौ ६ र ७ गते सम्पन्न खेलाडी छनोट कार्यक्रमबाट १८ खेलाडीको प्रारम्भिक सूचीमा पर्नु भएकी राना एक महिनाको बन्द प्रशिक्षणपछि राष्ट्रिय टोलीको १२ जना भित्र आफ्नो स्थान बनाउन सफल भएको हो ।
टोलीले सेन्ट्रल एसियन भलिबल संघ (काभा) को स्वीकृति र श्रीलंका भलिबल फेडरेशनको आयोजनामा श्रीलंकाको कोलोम्बोमा हुने काभा यू-१९ महिला भलिबल च्याम्पियन-२०२५ मा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता आगामी २०८२ कार्तिक १७ देखि २४ गतेसम्म (४–९ नोभेम्बर २०२५) सञ्चालन हुनेछ।
नेपाली टोलीमा जेनिशा विश्वकर्मा, भावना तामाङ, मीना सुनार, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ र विनिता राना रहेका छन्।
स्टेप रामपुर मार्फत भलिबल प्रवेश गर्नु भएका राना नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पाल्पाको पहिलो महिला भलिबल खेलाडी बन्नु भएको छ ।
उहाँले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड, प्रचण्ड कप राष्ट्रिय भलिबल, मुख्यमन्त्री कपमा समेत उत्कृष्ट खेल प्रदर्शन गर्नु भएको थियो । दाङमा भएको मुख्यमन्त्री कपमा उत्कृष्ट मिडिल ब्लकरको उपाधी समेत जित्नु भएको थियो । पोखरामा भएको ९औं एनभिए कपमा एभेरेष्ट भलिबल क्लव बाट सहभागी हुनुभएको थियो ।
स्टेप रामपुर परिवारले रानाको सफलतालाई ऐतिहासिक उपलब्धि बताउँदै सम्पूर्ण रामपुर नगरपालिका र पाल्पा जिल्लाको गर्वको विषय बनेको प्रतिक्रिया दिएको छ । स्टेप रामपुरले महिला भलिबलको उत्थानको लागि नि:शुल्क प्रशिक्षण सहित महिला खेलाडीहरुलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको प्रशिक्षक कमल रानाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend