कार्तिक १ ।
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर, पाल्पाको सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको छ । जिल्लाको सबैभन्दा ठूलो सहकारी संस्थाको रुपमा स्थापित संस्थाको १२ औं अधिवेशनले खगेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति गठन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा सुरेश आचार्य, सचिवमा मधुसुदन आचार्य, कोषध्यक्षमा प्रमिला आले श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुधांसु हमाल ठकुरी, सुरज गौतम, तिल बहादुर श्रेष्ठ, मन्जुदेवी पोखरेल र शकुन्ता सुनार रहनु भएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा विष्णु प्रसाद लम्साल र सदस्यहरुमा रामप्रसाद ढकाल र सुनिता पोखरेल भट्टराई चयन हुनु भएको निर्वाचन समितिका सदस्य बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार एक कार्यक्रम गरी शपथ ग्रहण संगै निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको छ । कार्यक्रममा सहभागी मध्ये जेष्ठ शेयर सदस्य ऋषिराम भट्टराईको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा निर्वाचन समितिका सदस्य सूर्य प्रसाद घिमिरेले पदतथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । साथै नवनिर्वाचित पदाधिकारीहरलाई निर्वाचन समितिका सदस्य घिमिरे संगै संस्थाका निवर्तमान अध्यक्ष सागर प्रसाद देवकोटाले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
निवर्तमान अध्यक्ष देवकोटाले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई माइन्युट प्रदान गरी पद हस्तान्तरण गर्नु भएको थियो । नव निर्वाचित अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सहकारी संस्था सञ्चालनका प्रचलित कानुनको पालना गर्दै संस्थाको विकास संगै शेयर सदस्यको उत्थानका लागि सबैको सुझाव अनुसार अघि बढ्ने बताउनुभयो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सागर प्रसाद देवकोटाले सञ्चालक समिति सर्वसम्मत रुपमा गठनका लागि सहयोग गर्नु हुने सरोकारवाला र निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य बालकृष्ण लम्सालले गर्नु भएको हो । नवनिर्वाचित अध्यक्ष न्यौपाने यस अघि सञ्चालक समिति उपाध्यक्ष पदमा हुनुहुन्थ्यो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend