शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुरमा दोस्रो भम्बक युनाइटेड कप अन्तर्गत क्लव स्तरीय भलिबल सुरु



मंसिर १६  ।
पाल्पा, रामपुर नगरपालिका–५, भम्बकमा क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता सुरु भएको छ । भम्बक युनाईटेड युथ क्लवको ११ औं वार्षिक उत्सवको अवसरमा दोस्रो भम्बक युनाइटेड कप अन्तर्गत प्रतियोगिता सुरु भएको हो ।



भम्बक युनाईटेड युथ क्लवको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सुरु भएको प्रतियोगिताको मंगलबार भव्यताका साथ समुद्घाटन गरिएको हो । भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । अन्तराष्ट्रिय भलिबल रेफ्री टहल सिं थापालाई बल हस्तान्तरण गर्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले रामपुर पछिल्लो समय खेलकुदको हबको रुपमा विकसित हुँदै गएको बताउनुभयो ।

किसानबारी खेल मैदान हुने फुटबल, भम्बक हुने भलिबल लगाएत विभिन्न प्रतियोगिताले रामपुरको पहिचानलाई थप स्थापित बनाएको बताउनुभयो । भलिबलको यस क्षेत्रमा सञ्चालन हुने प्रतियोगितालाई ब्राण्डको रुपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो । भैगोलिक हिसाबले पनि हरेक विभिन्न विद्याका खेलकुदको लागी रामपुर उपयुक्त ठाउँ रहेको धारणा राख्नुभयो । खेलमैदान निर्माणको लागी प्रदेश बाट पनि पहल गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले अनुशासित, खुसी र निरोगी बताउन खेलकुदको महत्व रहेको बताउनुभयो । राष्ट्रलाई चिनाउन खेलकुद महत्वपूर्ण रहेको बताउँदै भम्बक खेल मैदान निर्माणको आवश्यक सहयोग नगरपालिकाले गर्दै आएको र आगामी वर्ष एक तर्फी प्याराफिट निर्माणको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । क्षेत्रमा लगानी बढाउनुका साथै खेलाडीको उचित सम्मानमा सरकारले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

नगरपालिकाले नयाँ खेल प्रतिभाको उत्थानका लागि बालबालिकाहरुलाई तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले खेलकुदले युवाहरुमा एकता, सदुभाव कायम राख्दै सिर्जजशिल बन्न मद्दत गर्ने बताउनुभयो । रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष क्याप्टेन हिमाल मल्लले खेलकुदले राष्ट्रको गरिमा उच्च बनाए पनि खेलाडीहरुलाई राज्यले उचित सम्मान गर्न नसकेको बताउनुभयो । क्लवका संस्थापक सचिव गोविन्द प्रसाद भट्टराईले क्लवको ऐतिहासिक पृष्ठभूमिकोबारेमा जानकारी दिनु भएको थियो । रामपुर आधारभुत विद्यालयका विद्यार्थी द्धारा स्वस्ती बाचन संगै संस्थापक सचिव गोविन्द प्रसाद भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शालिकराम खनालले गर्नु भएको हो ।

युवाहरुलाई खेलकुद प्रति उत्प्रेरणा जगाउनुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा दिन दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागिएको भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले बताउनुभयो । आगामी मंसिर २० गते सम्म भम्बक खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा पाँच वटा क्लवहरुको सहभागीता रहेको छ । प्रतियोगितामा पाल्पा भलिबल क्लव, न्यू होराईजन स्पोट्र्स क्लव रुपन्देही, आयोजक भम्बक युनाईटेड युथ क्लव, नरेठाँटी गल्कोट र ठकुरी समाज शुक्लागण्डकी तनहुँको सहभागीता रहेको खेल संयोजक अनुप मल्लले बताउनुभयो । सहभागी क्लवले एक टिममा तीन जना एनभीए कप खेलिसक्नु भएका राष्ट्रिय खेलाडी सहभागी गराउने पाउने छ ।

आज भएको भम्बक युनाईटेड युथ क्लवले ११ औं वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गरेको हो । उट्घाटन खेलमा पाल्पा भलिबल क्लवले जित निकाल्दै विजयी यात्रा सुरुवात गरेको छ । न्यू होराइजन स्पोट्स क्लव रुपन्देहीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो, दोस्रो र तेस्रो सेट २५–२१, ३०–२८ र २५–२१ अंक सहित पाल्पा भलिबल क्लवले हात पारेको थियो । भम्बक खेलमैदानमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मल्लले जानकारी दिनुभयो । साथै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य पाँच वटा विद्यामा ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका रहेको छ ।

जिल्ला भलिबल संघ पाल्पाको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, रामपुर भलिबल संघ र नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता भएको हो ।साथै खेल अवलोकनका लागि सेमिफाइनल अघि प्रवेश शुल्क एक सय रुपैयाँ र सेमिफाईनल तथा फाइनल खेल अवलोकनका लागि दुई सय शुल्क तोकिएको छ । विद्यार्थीका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट, फरक क्षमता भएका अशक्त नागरिक र जेष्ठ नागरिकको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको समेत आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend