शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

फाइनल खेलमा भम्बक युनाईटेड र एनवाईसी विच प्रतिस्पर्धा हुने


  • शुक्रबार, मंसिर १९ २०८२ , अपराह्न ०८:०१ बजे

मंसिर १९ ।
पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कपको फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लव र एनवाईसी नरेठाँटी गल्कोट बागलुङ विच प्रतिस्पर्धा हुने भएको छ । क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टिम फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।



भम्बक युनाईटेड युथ क्लवको ११ औं वार्षिक उत्सवको अवसरमा भम्बक युनाईटेड युथ क्लवको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा जारी प्रतियोगिताको फाईनल खेल शनिबार हुनेछ । भम्बक खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भम्बक युनाईटेडले पाल्पा भलिबल संघलाई ३–२ सेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो र दोस्रो सेट पाल्पा भलिबल संघले २५–२२ र २९–२७ अंक सहित जित्न सफल भएको थियो । अन्तत तेस्रो, चौथो र पाँचौं सेट २५–१८, २५–१५, १५–०६ अंक सहित हात पार्दै भम्बकले फाइनलमा पुग्न सफल भएको हो ।

दोस्रो सेमिफाइनल खेल एनवाईसी नरेठाँटी गल्कोट बागलुङले ठकुरी समाज शुक्लागण्डकी तनहुँलाई ३–१ सेटले पराजित गरेको थियो । एनवाईसीले पहिलो, दोस्रो र चौथो सेट २५–१९, २५–१७ र २५–१४ अंक सहित जित्न सफल भएको थियो । तेस्रो सेट ठकुरी समाजले २५–१९ अंक सहित हात पारेको थियो । फाइनल खेल भोलि दिउँसो १ बजे हुने खेल संयोजक अनुप मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तृतीय स्थान छनौटका लागि पाल्पा भलिबल संघ र ठकुरी समाजले विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ ।

भम्बक युनाईटेड युथ क्लवको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सुरु भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । भम्बक खेल मैदानमा भैरहेको प्रतियोगितामा पाल्पा भलिबल संघ, न्यू होराईजन स्पोट्स क्लव रुपन्देही, एनवाईसी नरेठाँटी गल्कोट, ठकुरी समाज शुक्लागण्डकी र आयोजक भम्बक युनाईटेड क्लव सहित पाँच वटा क्लवहरुको सहभागीता रहेको थियो ।

शुक्रबारको खेल अन्तराष्ट्रिय विपि चिन्तन प्रतिस्थानका अध्यक्ष सन्दिप रानाको प्रमुख आतिथ्यतामा भएको थियो । रानाले स्थानीय स्तरमा हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादन संगै खेलको महत्वलाई थप उजागर गर्ने बताउनुभयो । युवाहरुलाई खेलकुद प्रति उत्प्रेरणा जगाउनुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा दिन दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरिएको भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend