शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

दोस्रो भम्बक युनाईटेड कपको उपाधि एनवाईसी नरेठाँटी गल्कोटलाई


  • आइतबार, मंसिर २१ २०८२ , पूर्वाह्न १२:३४ बजे

मंसिर २० ।
पाल्पा,  रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कपको उपाधी एनवाईसी नरेठाँटी गल्कोट बागलुङले जितेको छ । फाइनल खेलमा  आयोजक भम्बक युनाईटेड क्लवलाई हराउँदै एनवाईसी नरेठाँटी गल्कोट बागलुङले उपाधी जितेको हो ।



क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता अन्तर्गत शनिबार  भएको खेलमा आयोजकलाई सोझो सेटमा सहजै हराउँदै एनवाईसीले उपाधी जितेको हो । यस संगै आयोजक भम्बक युनाईटेड क्लवले उपविजेतामा चित्त बुझाएको छ । फाइनल खेलमा पहिलो सेट २५-२२, २५-१३ र २५-२० अंक सहित  एनवाईसी नरेठाँटी गल्कोट बागलुङले हात पारेको हो ।

जित संगै विजेता एनवाईसी नरेठाँटी युथ क्लवले  नगद २ लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले १ लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रप्त गरेको छ । यस्तै तृतीय स्थानका लागि शनिबार नै भएको  ठकुरी दर्शन समाज शुक्लागण्डकी र पाल्पा भलिबल संघवीचको खेलमा पाल्पा भलिबल संघले ३-१ को सेटले ठकुरी दर्शन समाज शुक्लागण्डकी तनहुँलाई पराजित गरेको छ । यस संगै पाल्पा भलिबल संघ तृतीय र शुक्लागण्डकीको समुह सान्त्वना भएको छ । तृतीय स्थान छनौटका लागि भएको खेलमा पहिलो, दोस्रो र चौथो सेट पाल्पा भलिबल संघ २५-२३, २५-२३ र
२५-१५ अंक सहित हात पारेको थियो । तेस्रो सेट ठकुरी समाजले २५-२० अंक सहित हात पारेको थियो ।

तृतीय हुने पाल्पा भलिबल संघले ५० हजार र सान्त्वना हुने शुक्लागण्डकीले ३० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नरेठाँटी युथ क्लवका सन्जु विक्रम शाह भएका छन् । यसैगरी बेस्ट सेटर नरेठाँटीका सन्तोष विक, उत्कृष्ट स्पाइकर भम्बक युनाईटेडका रवि केसी, उत्कृष्ट ब्लकर नरेठाँटीका विश्वास अधिकारी, उत्कृष्ट डिफेण्डर नरेठाँटीका राजन दर्लामी मगर , राईजिङ प्लेयर नरेठाँटी कै विप्लव शाही ठकुरी भएका छन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।

विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदको विकास र खेलाडी उत्पादनमा स्थानीय तह, प्रदेश र संघीय सरकारले महत्व दिन आवश्यक रहेको ‍औँल्याउनुभयो । उहाँले भलिबल खेलप्रति मानिसहरुको आकर्षण बढ्दै गएको भन्दै यसको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्नु पर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसको शारिरिक,मानसिक र बैद्धिक विकासमा सहयोग पुर्‍याउनुका साथै नयाँ खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो ।साथै रामपुर नगरपालिका वडा नं.५को भम्बक खेल मैदानमा भलिबल खेलका लागि प्याराफिट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुख थापाले क्लवहरु खेलकुदमा मात्र सिमित नभई समाजमा व्याप्त विकृति विसंगतिहरु हटाउनका लागि समाजिक काममा पनि लाग्न आग्रह गर्नुभयो । युवाहरुलाई खेलकुद प्रति उत्प्रेरणा जगाउनुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा दिन दोस्रो संस्करणको भलिबल प्रतियोगिता आयोजना गरिएको भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले बताउनुभयो । गत मंसिर १६ गते देखि शुरु भएको क्लव स्तरीय भलिबल प्रतियोगितामा ५ वटा क्लवको सहभागिता रहेको थियो ।क्लवका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य शालिकराम खनालले गर्नु भएको थियो । प्रतियोगिता समापन कार्यक्रमका अवसरमा विभिन्न साँस्कृतिक तथा साँगितिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend