शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुरका कृषकलाई कफी खेती सम्बन्धी उत्प्रेरणात्मक अभिमुखीकरण



पुस ८ ।
पाल्पा, रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । कफी खेती गर्ने कृषक र इच्छुक कृषकहरुका लागि मंगलबार स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।



रामपुर नगरपालिकामा कफी खेतीको सम्भाव्यता र महत्व, रोपण र उत्पादनको अवस्था, कफी खेतीको व्यवसायी प्रबद्र्धनका लागि सरकारले गरेको नीतिगत व्यवस्था एवं कार्यान्वयनको पक्ष लगायतका विषयमा जानकारी गराईएको थियो । यस्तै कफी खेतीका लागि आवश्यक वातावरण, लगाउने तरिका, यसबाट हुने उत्पादन र व्यवसायिक सम्भावना र फाइदा, यसको व्यावसायिक प्रबद्र्धनका लागि स्थानीय तहले खेल्नु पर्ने भूमिका लगायतका विषयमा उत्प्रेरणात्मक अभिमुखिकरण प्रदान गरिएको छ ।

एक दिने उत्प्रेरणात्मक तालिम सहितको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले कफीको माग बढ्दो रहेकोले यसको व्यावसायिक उत्पादन र प्रबद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । माग बढ्दा बजारको समस्या नहुने भन्दै व्यावसायिक कफी खेती गरी मनग्य आम्दानी लिन आग्रह समेत गर्नुभयो । उहाँले रामपुरमा कफी खेतीलाई व्यावसायिक रुपमा विकास गर्नका लागि स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भएको छ ।

विगतमा वडा नं. ९ लाई कफी खेतीको पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गरे पनि कृषकहरुले खेती गर्न छोडेको भन्दै अन्य कृषकहरुलाई पनि अब पुन कफी खेती गर्न आग्रह गर्नुभयो । उहाँले उपप्रमुख कोसेली घर मार्फत रामपुरमा उत्पादन भएको कफीको बजारीकरण नगरपालिकाले गर्दै आएको जानकारी दिनुभयो । साथै नगरपालिका भित्रका कृषकहरुले कफी खेती होस् वा जुनसुकै खेती व्यवसायीक रुपमा गर्न चाहे ब्याज अनुदान लगाएत जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले कफी खेतीको विस्तृत सम्भावना अध्ययन गरेर रामपुरमा कफी खेतीको विकास गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भौगोलिक हिसाबले नेपालको मध्य पहाडी क्षेत्रमा कफी खेतीको राम्रो सम्भावना रहेको भन्दै अन्य खेती भन्दा कफी खेतीबाट बढी आम्दानी लिन सकिने बताउनुभयो । विगतमा प्रशोधनका लागि प्रविधि र बजारको समस्या भए पनि अहिले क्याफे र कफी संस्कृति बढ्दो रहेकोले सजिलै विक्री गर्न सकिने बताउनुभयो ।

पहाडी क्षेत्रमा बाँदरको समस्या भए पनि बाँदरले नखाने र तुलनात्मक रुपमा अन्य खेती भन्दा कफी बाट लाभ बढी लिन सकिने उल्लेख गर्नुभयो । साथै कफी खेतीको व्यावसायिक विकासका लागि विकास बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै यसको विकासका लागि स्थानीय सरकारले अनुदान लगाएतका कृषकहलाई प्रोत्सहान हुने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले राम्रो हेरचाह र व्यवस्थापन गरेर कफी खेती गर्न सके रोजगारी सिर्जना संगै आम्दानीको राम्रो स्रोत बन्ने बताउनुभयो । उहाँले व्यवस्थित र व्यावसायिक रुपमा कफी खेती गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी कृषकहरुले विगतमा कफी खेती गरे पनि बजारको समस्याका कारण खेती नै गर्न छाडेको बताएका छन् । उनीहरुले प्रशोधन, प्राविधिक ज्ञान संगै बजारीकरणको समस्या नभए पुन खेती सुरु गर्ने बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा भएको कार्यक्रम बोर्डका प्रमुख चन्द्र पुरीको अध्यक्षता र रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend