पुस २४ ।
पाल्पा, स्याङ्जाको चापाकोट नगरपालिकामा शुक्रबार (भोली) देखि तेस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८२ सुरु हुँदैछ । कालीगण्डकी वेशीको पर्यटन प्रवद्र्धन, संघको भवन निर्माण संगै घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, कला संस्कृतिको जगेर्ना गर्न तथा यहाँका उद्योग तथा व्यवसायलाई थप चलायमान गराउन तेस्रो संस्करणको मेला हुन लागेको हो ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको संरक्षणमा मेला सञ्चालन हुन लागेको हो । पुष २५ देखि माघ ६ गते सम्म हुन गैरहेको मेलाको मेलाको तयारी सकिएको आयोजकले जनाएको छ । मेलाको पूर्व सन्ध्यामा बिहीबार मेला स्थाल गंगालाल माविको खेल मैदानमा पत्रकार सम्मेलन गरी चापाकोट उद्योग वाणिज्य संघले अन्तिम तयारीको बारेमा जानकारी गराएको हो ।
चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला मुल आयोजक समितिका अध्यक्ष निर्मल राना मगरले बालउद्यान बाहेक मेलाको अन्य तयारीको कार्य सकिएको जानकारी दिनुभयो । तेस्रो संस्करणको मेला विशेष गरी कालीगण्डकी वेशीकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार, उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर संगै संघको भवन निर्माण तथा दिगोव्यवस्थापनका लागि मेला सञ्चालन गर्न लागिएको रानाले बताउनुभयो । महोत्सवको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले विहान ११ बजे उट्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठले कालीगण्डकी करिडोर संगै शालिग्राम करिडोरको निर्माण संगै चापाकोट नगरपालिका सहितको स्थान व्यवसायिक हिवासले थप महत्वपूर्ण बन्दै गएको बताउँदै उत्कृष्ट स्थान रहेको बताउनुभयो । कालीगण्डकी नदीका विभिन्न स्थानमा निर्माण भएका पुलहरुले सडक संजाल संग चापाकोटलाई सहज रुपमा जोडेको बताउनुभयो । मेला अवधि भरमा एक लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । मेलामा दैनिक कलाकारहरुको प्रस्तुति संगै रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, चापाकोट डान्स आइडल, हेलिकप्टर मार्फत दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा, प्याराग्लाइडिङ्गको व्यवस्था गरिएको छ । महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहने छ ।
महोत्सवको आकर्षणको रुपमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, बालउद्यान संगै प्याराग्लाईडिङ्ग सहित दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले कालीगण्डकी डाइभर्सनको विरुद्धमा महोत्सवको अवसरमा एकेबद्धता जनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चार जगतलाई सम्मान गर्दै प्रचारप्रसारमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले मेलाको लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
महोत्सव उट्घाटनको अवसरमा विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिदैछ । चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन संघका सदस्य एवं सूचना तथा सञ्चार समिति संयोजक भुवन भण्डारीको सञ्चालनमा भएको हो । महोत्सव अवलोकनका लागि ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । टिकट शुःल्क साधारण तर्फ एकसय रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ, ७० वर्ष माथिका जेष्ठ नागरिक र फरक क्षमताका नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ । मेलाको पूर्व सन्ध्यामा चापाकोट बजार सहित आसपासका स्थान महोत्सवको पूर्व सन्ध्यामा बेहुली झै सिंगारिएको छ । महोत्सवको लागि चापाकोटका विभिन्न स्थानमा स्वागत द्वार निर्माण र ध्वजा पटका टाँगिएको छ ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend