पुस २५ ।
स्याङ्जा, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले कालीगण्डकी नदीको संस्कृति, पहिचान र अस्तित्व मासिने कुनै पनि खालको सम्झौता गण्डकी प्रदेश सरकारबाट नहुने स्पष्ट पार्नुभएको छ । स्याङ्जाको चापाकोटमा शुक्रबार देखि सुरु भएको तेस्रो चापाकोट महोत्सव व्यापार मेला २०८२ को उद्घाटन गर्दै मन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनका विषयमा प्रदेश सरकार अडिग रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कालीगण्डकी हाम्रो संस्कृतिको मेरुदण्ड हो । कालीगण्डकीको संस्कृति मासिने र ह्रास आउने कुनै पनि काम गण्डकी प्रदेश सरकार बाट त्यो खाले सम्झौता हुँदैन ।’ हाम्रो प्रकृति र हाम्रो संस्कृति हाम्रो सम्मुन्नतिको आधार भएको बताउनुभयो । गुरुङले कालीगण्डकी मुल संस्कृति भएको बताउँदै संस्कृतिको बारेमा गण्डकीप्रदेश सरकार बाट त्यो खाले सोंच र सम्झौता हुनै नसक्ने बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश प्रकृतिले भरिपूर्ण क्षेत्र रहेको बताउँदै मुलुक आर्थिक विकासमा पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको बताउनु भयो । चापाकोट नगरपालिका कृषि, पर्यटनका लागि सम्भावना रहेको बताउनुभयो । चापाकोट नगरपालिका कृषि र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको भन्दै कृषि उत्पादन वृद्धिका लागि पूर्वाधार विकास र कृषि उपजको बजारीकरणमा लगानी आवश्यक रहेको धारणा राख्नुभयो । साथै, नेपालको संविधानले समावेशी, समानुपातिक र सहभागिताको सुनिश्चितता गरेको पनि उहाँले स्मरण गराउनुभयो ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने नाराका साथ चापाकोट उद्योग वाणिज्य संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षणमा सुरु भएको मेला आगामी माघ ६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँणले महोत्सवले चापाकोटका पर्यटकीय स्थलको उजागर गर्नुका साथै स्थानीय कृषक, उद्योगी र व्यवसायीको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कालीगण्डकी नदी डाइभर्सन कुनै पनि हालतमा हुन नहुने स्पष्ट पार्नुभयो।
चापाकोट नगरपालिकाकी उपप्रमुख इशा रानाले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै मेला तथा महोत्सवले स्थानको पहिचान स्थापित गर्नुका साथै व्यवसायलाई चलायमान बनाउने बताउनुभयो। वालिङ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष खगेन्द्र अर्यालले उद्योग वाणिज्य संघले उद्यमी र व्यवसायीलाई एउटै मञ्चमा आबद्ध गराउँदै राज्य र समाजको उत्थानमा योगदान पुर्याएको उल्लेख गर्नुभयो । चापाकोट नगरपालिका ९ का वडा अध्यक्ष कृष्ण प्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
महोत्सव उद्घाटनका अवसरमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसहित विद्यालय, संघसंस्था र महिला समूहका ४७ वटा झाँकीसहित नगर परिक्रमा गरिएको थियो। गंगालाल माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको मेलाले कालीगण्डकी बेशीको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला–संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन तथा उद्योग–व्यापारको सम्भावना उजागर गर्ने उद्देश्य लिएको छ ।
तेस्रो संस्करणको मेला विशेष गरी कालीगण्डकी वेशीकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार, उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर संगै संघको भवन निर्माण तथा दिगो व्यवस्थापनका लागि मेला सञ्चालन गरिएको चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले बताउनुभयो । चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठले कालीगण्डकी करिडोर संगै शालिग्राम करिडोरको निर्माण संगै चापाकोट नगरपालिका सहितको स्थान व्यवसायिक हिवासले थप महत्वपूर्ण बन्दै गएको बताउँदै उत्कृष्ट स्थान रहेको बताउनुभयो ।
कालीगण्डकी नदीका विभिन्न स्थानमा निर्माण भएका पुलहरुले सडक संजाल संग चापाकोटलाई सहज रुपमा जोडेको बताउनुभयो । मेला अवधि भरमा एक लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य रहेको छ । मेलामा दैनिक कलाकारहरुको प्रस्तुति संगै रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, चापाकोट डान्स आइडल, हेलिकप्टर मार्फत दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा, प्याराग्लाइडिङ्गको व्यवस्था गरिएको छ । महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहेको छ ।
महोत्सवको आकर्षणको रुपमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, बालउद्यान संगै प्याराग्लाईडिङ्ग सहित दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाको अध्यक्षतमा भएको उट्घाटन कार्यक्रम संघका उपाध्यक्ष ढाकाराम डोटेलको स्वागत र सचिव शिव श्रेष्ठको सञ्चालनमा भएको हो ।
आज महोत्सवमा चर्चित लोक दोहोरी गायक कुमार पुन, पार्वती जिसि, नेत्र खड्का, जगत गौडेल र मुना अर्यालको प्रस्तुति रहेको थियो । शनिबार महोत्सवमा चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटा, कुमार पुन संगै कलाकारहरु लक्ष्मण ठकुरी, बत्ती थापा, सान्ता बर्देवा, नेत्र खड्काको प्रस्तुति रहनेछ । कार्यक्रम प्रस्तोतामा मुना अर्याल रहनुहुनेछ ।





© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend