माघ १० ।
पाल्पा, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रामपुर शाखाले ६१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बैंकले रामपुर क्षेत्रका उद्योगी, व्यवसायी, बैंक तथा वित्तिय संस्था र शाखा अन्तर्गतका ग्राहाकहरुको उपस्थितिमा शाखा कार्यालयमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा शाखाले रामतुलसी माविमा विद्यार्थी र रामपुर जेष्ठ नागरिक स्कुलमा जेष्ठ नागरिकहरुलाई वित्तिय साक्षरता शिक्षा प्रदान गरेको थियो । शनिबार वार्षिकउत्सव विशेष कार्यक्रम गरेको हो । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखाका प्रबन्धक रेवतीरमण पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
वार्षिक उत्सव विषेश कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले आर्थिकमन्दीका कारण व्यवसायहरु धरासायी बन्दै गैरहेको सन्दर्भमा वित्तिय संस्थाले प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो । स्वदेश मै केही गर्छु भन्ने युवा तथा व्यवसायीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो । उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने, व्यवसाय गर्छु भन्ने युवाहरुलाई बैंकले प्रोत्साहन प्रदान गरेको हो । विगतमा जिल्ला सदरमुकाम पुगेर बैंकिङ सेवा लिनु पर्ने बाध्यतालाई बैंकको शाखा स्थापना संगै थप सहज भएको बताउनुभयो ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले ग्राहकमुखी सेवा प्रदान गर्दै अघि बढ्न शुभकामना दिनुभयो । प्रतिमा प्रतीक इन्टरप्राईजेजका सञ्चालक कृतिनाथ श्रेष्ठले बैंकले परिपक्कतामा साथ प्राप्त गरेको उपलब्धि प्रति बधाई ज्ञापन गर्नुभयो । शाखा प्रबन्धक रेवतीरमण पंगेनीले विभिन्न आरोह अबरोह पार गदै विगतको ढड्डा प्रणाली बाट सबैको साथ र सहयोगले डिजिटल बैंकिङ्ग सम्म आएको बताउनुभयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि हुने आक्रमणप्रति चिन्ता व्यक्त गर्नुभयो ।
रामपुर उत्पादको हिसाबले उर्वर भूमी रहेको स्मरण गर्दै अहिले उत्पादन भन्दा पनि ट्रेडको कारोबार बढ्दो अवस्थामा रहेको बताउनुभयो । उत्पादनशिल क्षेत्रमा बैंक लगानी गर्न सदा तयार रहेको बताउँदै स्थानिय सरकार, व्यवसायी संग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । बैंकका कर्मचारी कपिल श्रेष्ठले सबैको साथले बैंकको ३१३ वटा शाखा मध्ये उत्कृष्ट स्थान हासिल गर्दै आएको बताउनुभयो । बैंक र व्यवसाय विच नजिकको सम्बन्ध रहेको स्मरण गराउनुभयो ।
रामपुर शाखा बाट बैंकले उत्कृष्ट कारोबार गर्ने ५ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट कारोबार गर्ने रामपुर इन्टरप्राइजेजका प्रोप्राइटर भोजराज भट्टराई, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था, कालीगण्डकी स्टोर्सका प्रोप्राइटर रमेश आचार्य, प्रतिमा प्रतिक ईन्टरप्राइजेजका प्रोप्राइटर कृर्तिनाथ श्रेष्ठ, शाखा बाट सबैभन्दा बढी डिजिटल कारोबार गर्ने हातेमालो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेम बहादुर सारुलाई सम्मान गरेको हो । शाखाका कर्मचारी कपिल श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रबन्धक शान्ति पाठकले गर्नु भएको हो ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend