फागुन ४ ।
पाल्पा, रामपुर नगरपालिकाले नसर्ने रोगको बिरामी बढ्दै गएपछि स्क्रीनिङ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले सोमबार देखि ३० वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्क्रीनिङ सुरु गरेको हो ।
सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारको समन्वयमा समुदाय स्तरमा नसर्ने रोग सम्बन्धी स्क्रीनिङ कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले वडा नं. ५ बाट अभियान सुरु गरेको हो । नगरपालिकाको कार्यालय प्राङ्गगणमा भएको कार्यक्रममा मधुमेह जाँच, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रा परीक्षण, उमेर अनुसार उचाइ, तौलको अवस्थाको जानकारी लिइएको थियो । कार्यक्रमको पहिलो दिन २ सय ५८ जनाले जाँच गराएको छ ।
जाँच गरेका मध्ये अधिकांशमा मधुमेहको समस्या देखिएको रामपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक पुनम जिसिले जानकारी दिनुभयो । स्क्रीनिङका क्रममा ५७ जनामा प्रि डाइबेटिज, २० जनामा हाई डाइबेटिज, ८१ जनामा उच्च रक्तचाप देखिएको छ । पिसाबमा प्रोटिनको मात्रा परीक्षण दर्ता ६३ मध्यम स्तरको र २ जनामा उच्च देखिएको उहाँले बताउनुभयो । स्क्रिनिङ कार्यक्रम अन्तर्गत मंगलवार वडा नं. ५ कै कान्जी हाउसमा र अन्य बाँकी दिनमा नगरका सबै स्थानमा मधुमेह, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रा, उमेर अनुसारको उचाइ, तौलको अवस्था जाँच गरिने स्वास्थ्यकर्मी रिता खण्डलुले जानकारी दिनुभयाे ।
पछिल्लो समय नसर्ने रोगका बिरामीको संख्यामा बृद्धि भए संगै तीनै तहका सरकारको समन्वयमा समुदाय स्तरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रम गरेको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend