फागुन १५ ।
पाल्पा, मगर समुदायले ४४ औँ राष्ट्रिय मगर एकता दिवस शुक्रबार देशैभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।
बाहुल्यता रहेको जिल्ला पाल्पामा भने राष्ट्रिय मगर एकता दिवस कार्यक्रम धुमधामका साथ मनाईएको छ । पाल्पाका १० वटै स्थानीय तहमा मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शनी सहित दिवस मनाईएको हो । दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले सार्वजनिक बिदा दिएको थियो ।
रामपुर नगरपालिकामा एकीकृत मगर उत्थान समाजको १८ औँ वार्षिक उत्सव संगै दिवस विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा मगरी भेषभूषा सहित मगर समुदायमा प्रचलित कौरा, झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । औपचारिक कार्यक्रम पूर्व झाँकी सहित बेझाँड बजार परिक्रमा गरिएको थियो । मगर संस्कृतिमा आधारित सांस्कृतिक झाँकीसहित मौलिक खानाका परिकार प्रदर्शनी समेत गरिएको थियो ।
नेपाल मगर सङ्घ तथा मगर समुदाय सम्बद्ध विभिन्न समूहले जिल्लाभर कार्यक्रम गरी दिवस मनाइएको नेपाल मगर सङ्घ पाल्पाका अध्यक्ष शेर बहादुर सोमै मगरले जानकारी दिनुभयो । मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवद्र्धन संगै मगरात इतिहासको पुर्नलेखन, मगर भाषालाई स्थानीय तहमा लागु गर्नु पर्ने लगाएतका विषय मगर समुदायको मुख्य मुद्दा रहेको थापाले बताउनुभयो ।
मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले दिवस विशेष कार्यक्रमलाई १८ वर्ष देखि निरन्तरता दिँदै आएको एकीकृत मगर उत्थान समाजका अध्यक्ष नरेन्द्रकुमार जर्घाले जानकारी दिनुभयो । नेपाल मगर सङ्घ पाल्पाले तानेसनमा कार्यक्रम गरेको छ । निस्दी गाउँपालिकामा पालिकाको आयोजनामा सातै वडामा दिवस विशेष कार्यक्रम भएको छ । अन्य पालिकाहरुमा पालिका स्तरमा कार्यक्रम भएको हो ।
सङ्घ स्थापना हुनु पूर्व मगरात सभ्यतासहितको समृद्ध मगर समाज निर्माण गर्ने उद्देश्यका साथ २०१२ सालमा श्यामसिंह थापाको नेतृत्वमा काठमाडौँमा मगर समाज सुधार सङ्घ गठन भएको इतिहास रहेको छ । २०३६ सालको राजनीतिक आन्दोलनपश्चात् मगरको एकीकृत सामाजिक संस्थाको रुपमा २०३९ साल फागुन १५ गते दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घ हालको (नेपाल मगर सङ्घ) स्थापना भएको थियो। भाषा, धर्म र संस्कृतिमा विविधता रहेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक सङ्घर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई दिवसको रुपमा मनाईदै आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा रहेका १४२ जातजातिमध्ये मगर समुदाय तेस्रो ठूलो जनसङ्या भएको समुदाय हो ।
कुल जनसंख्याकोे ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ मगर समुदायको जनसङ्ख्या रहेको छ । पाल्पामा कुल जनसङ्ख्याको ५३ दशमलव ०३ प्रतिशत मगर समुदाय रहेका छन् ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend