चैत्र ४ ।
पाल्पा, गरिमा विकास बैंक लिमिटेड रामपुर शाखाले विद्यार्थीहरुलाई शाखाको भ्रमण संगै वित्तीय साक्षरता शिक्षा प्रदान गरेको छ । ग्लोबल मनी विक २०२६ को अवसरमा भूपू सैनिक राइजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुल रामपुरमा अध्ययनरत विद्यार्थीहरुलाई शाखाको भ्रमण सहित साक्षरता शिक्षा प्रदान गरेको हो ।
भ्रमणमा सहभागी कक्षा १० का विद्यार्थीलाई गरिमा विकास बैंक लिमिटेड रामपुर शाखा प्रबन्धक सन्तोष काफ्लेले शाखाले प्रदान गर्ने बैंकिङ्ग सेवा, सेवा लिने प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो । जीवनमा बचतको महत्वबारे जानकारी दिदै आजको बचत भविष्यका लागि सुरक्षित प्रतिफल हुने धारणा राख्नु भएको थियो । पछिल्लो समय डिजिटल माधयम बाट ठगीका घटना बढ्दै गैरहेको उल्लेख गर्दै डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि प्रकाश पार्नुभएको थियो ।
सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाई पठाइएका लिंक खोल्दा ह्याकरहरुको पहुँच पुग्ने जोखिम रहेको भन्दै डिजिटल बैंकिङ्ग प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने बताउनुभयो । विद्यार्थीहरुलाई वित्तीय ज्ञान संगै डिजिटल सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्न कार्यक्रम गरिएको काफ्लेले बताउनुभयो । कार्यक्रममा भूपू सैनिक राइजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुल रामपुरका प्रिन्सिपल गोपी सिग्देलले कार्यक्रमले विद्यार्थीलाई बैंकिङ्ग सेवाको बारेमा जान्ने र बुझ्ने अवसर प्रदान संगै भविष्यका लागि वित्तीय योजना बनाउन प्रेरित गर्ने बताउनुभयो । उहाँले गरिमा विकास बैंक रामपुर शाखा प्रति आभार व्यक्त गर्नु भएको थियो ।
इ.सं. २०१२ बाट सुरु भएको ग्लोबल मनी विक अभियान हाल विश्वका १७० भन्दाबढी देशहरुमा हरेक वर्ष विशेषतः किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरणल्याउने उद्देश्यले वित्तीय साक्षरताको विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमामनाउने गरिन्छ । नेपाल राष्ट्र बैंकको आह्वानमा मार्च महिनामा साताव्यापी रूपमा कार्यक्रम गरी अभियान सञ्चालन हुँदै आएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend