चैत्र ८ ।
पाल्पा, निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जुनतारा समाज पिपल भञ्ज्याङ्गको आयोजना, व्रिड्ज एसोसियसन अफ जापानको सहआयोजना र पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.रामपुर पाल्पाको प्राविधि सहयोगमा शिविर भएको हो ।
शिविरको शुभारम्भ गर्दै निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सुविधाको लागि शिविर सञ्चालन गरेकोमा धन्यवाद दिदै समयमै रोगको पहिचान गरी निराकरण गर्न शिविरले सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा जनताको सहजताका लागि पालिकाले आवश्यक पहल गर्दै आईरहेको जानकारी दिनुभयो । स्वास्थ्य सेवालाई थप सहज बनाउन शिविरले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।
निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर चितौरेले स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि शिविरले महत्वपूर्ण टेवा दिने बताउनुभयो । जापानिज नागरिक काजुमासा काकिमी ओके बाजेले मानिसको सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेको भन्दै चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । निस्दी गाउँपालिका–५ का वडा अध्यक्ष दुर्गा बहादुर सोमैले पालिकाले विभिन्न संघ संस्थाको समन्वयमा घुम्ती शिविर संगै स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको बताउनुभयो । पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.का सञ्चालक डा. भिमसेन सुनारले शिविर मार्फत जनरल फिजिसियन सेवा, भिडियो एक्सरे सेवा, इसिजि सेवा, मधुमेह जाँच र निशुल्क औषधी वितरण सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रम जुनतारा समाजका अध्यक्ष तिल बहादुर राक्सेको अध्यक्षतामा भएको थियो । जनता आधारभूत विद्यालयको प्राङ्गणमा भएको शिविर मार्फत निस्दी गाउँपालिका वडा नं. ४ र ५ लगाएत विभिन्न स्थानका २ सय ७१ जना नागरिकले सेवा लिएको पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.का सञ्चालक डाक्टर भिमसेन सुनारले बताउनुभयो ।
z 
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend