शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुर–१० राहुँडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

६२३ जनाले लिए सेवा


  • बिहिबार, चैत्र २६ २०८२ , पूर्वाह्न ११:२५ बजे

चैत्र २६ ।
पाल्पा, रामपुर नगरपालिका–१० राहुडाँडामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल शिक्षा, वातावरण र स्वास्थ्य संस्था (निम)को आयोजना, रामपुर नगरपालिका र नवजागृति प्राविको समन्वयमा नव जागृति प्राथमिक विद्यालयमा शिविर भएको हो ।



मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालन भएको शिविर बाट ६२३ जनाले स्वास्थ्य जाँच सहित परामर्श सेवा लिएको आयोजक संस्था निमले जनाएको छ । शिविरमा निमका स्वंयसेवक विदेशी र नेपाली विशेषज्ञ सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

शिविरमा सामान्य चिकित्सा सेवा, दन्तरोग, स्त्री रोग, बालरोग, आँखा जाँच सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । रोगहरुको पहिचान संगै भिडियो एक्स–रे, ईसिजी, रगत जाँच सहित निःशुल्क चस्मा तथा औषधी वितरण गरिएको थियो । गाउँमै विशेषज्ञ सेवा पाउँदा सेवाग्राही खुशी भएका छन् । शिविरमा सेवा प्रदान गर्नुहुने स्वास्थ्यकर्मी सहितका स्वंयसेवकहरुलाई एक कार्यक्रमका विच सम्मान सहित विदाई गरिएको छ ।

नवजागृति प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन सिं सिंजालीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको थियो । स्वास्थ्यकर्मी सहितको स्वंयसेवकहरुलाई सम्मान गर्नुहुँदै प्रमुख अतिथी खाँणले नगरको ग्रामीण क्षेत्रमा संस्थाले निस्वर्थ भावका साथ गरेको सेवा प्रति आभार व्यक्त गर्नुभयो । जनताको सेवाको लागि नगरपालिका सामाजिक संस्था संग समन्वय गरेर अघि बढ्न नगरपालिका सदा तप्पर रहेको बताउनुभयो । निमले यस अघि विद्यालयमा गरेको कार्य प्रशंसनिय रहेको समेत बताउनुभयो ।

निमका अध्यक्ष शंकर गैह्रेले ग्रामीण भेगका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । संस्था देशका विभिन्न स्थानमा स्वास्थ्य सेवा संगै शिक्षा र वातावरणको क्षेत्रमा पनि कार्य गर्दै आएको बताउनुभयो । शिविरमा स्वास्थ्य जाँच गरेका विरामीको निरन्तर फलोअप गरिने जानकारी दिदै उहाँले आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

शिविरमा स्वंयसेवकको रुपमा स्वास्थ्य जाँच गर्नु भएका डा. फिलिपले गाउँमा आएर सबैलाई सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो । डा. जेरारले स्थानीयको सक्रियता र सदुभाव प्रति खुशी व्यक्त गर्नुभएको थियो । डा. अनिल पोखरेलले शिविर मार्फत स्वास्थ्य जाँच संगै परामर्श समेत प्रदान गरिएको बताउनुभयो । उहाँले उपचारसँगै स्वास्थ्य सचेतना महत्वपूर्ण रहेको बताउनुभयो ।

नवजागृति प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवन सिं सिंजालीले ग्रामीण क्षेत्रका नागरिक स्वस्थ्य सेवाको पहुँच भन्दा टाढा रहने भएकाले शिविरले ठूलो राहत मिलेको बताउनुभयो । निमले विद्यालय संगै जनताको स्वास्थ्यमा दिएको योगदान भुल्न नसकिने बताउनुभयो । नवजागृति प्राविका प्रधानाध्यापक माधव प्रसाद घिमिरेले निमको सक्रियतामा विद्यालयमा निर्माण भएको संरचनाले ठूलो सहयोग गरेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन पर्शुराम पाण्डेले गर्नु भएको थियो । निमका वरिष्ठ उपाध्यक्ष धनञ्जय लम्सालले राहुडाँडामा शिविर सम्पन्न भएसंगै पाल्पाको पूर्वखोला गाउँपालिका–६ पनेर्दीमा विहिबार बाट शिविर सञ्चालन भएको बताउनुभयो । त्यस पश्चात रम्भा गाउँपालिका–१ हुँगीमा शिविर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । शिविर बाट रामपुर नगरपालिका–१० का स्थानीय संगै स्याङ्जाका जनता समेत लाभान्भित भएको राजु गुरुङले जानकारी दिनुभयो । शिविरमा विदेशी ८ जना, नेपाली ५ जना स्वंयसेवक चिकित्सक सहित २४ जनाको टोलीले सेवा प्रदान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend