वैशाख २० ।
पाल्पा, नेपाली कांग्रेसको “जरा अभियान” तथा क्रियाशिल सदस्यता अद्यावधिक कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ ले आइतबार अन्तरक्रिया सहित कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली गणेशमान स्मृति भवन बेझाँडमा भएको कार्यक्रम कांग्रेसका क्षेत्रीय सभापति झमन राज मगरको अध्यक्षता भएको थियो । कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरू, महासमिति सदस्यहरू, क्षेत्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । अभियानको मूल उद्देश्य पार्टी संगठनलाई जरा देखि बलियो बनाउनु, सदस्यताको अभिलेखीकरणलाई व्यवस्थित गर्नु तथा आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पार्टीलाई चलायमान बनाउन निरन्तर अन्तरक्रिया, छलफल र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । नयाँ पुस्तालाई पार्टीको नीति र विचार संग कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कांग्रेसमा जस्तो परिस्थिति आए पनि सम्हालेर अघि बढ्न सक्ने शक्ति रहेको बताउनुभयो । सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउँदै जनतासँग नजिकिने नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले राष्ट्रियता सुदृढीकरण, विधिको शासन स्थापना, नागरिक सर्वोच्चताको सुनिश्चितता तथा कानुनी सुधारमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवहारमा उतार्नु जरा अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले वैशाख मसान्तभित्रै सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न सबै नेता तथा कार्यकर्ताहरूलाई सक्रिय रूपमा जुट्न आग्रह गर्दै संगठनलाई गतिशील बनाउने जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्नुभयो।
नेपाली कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापाले जरा अभियान संगठन विस्तार र मजबुत बनाउन अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले पार्टीभित्र रहेका कमजोरीहरूलाई पहिचान गरी समयमै सुधार गर्नुपर्ने, आन्तरिक एकता सुदृढ गर्नुपर्ने तथा अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरि न्यौपानेले अभियानलाई केवल औपचारिक कार्यक्रमको रूपमा नभई संगठन सुदृढीकरणको आधारका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै केन्द्रीय प्रतिनिधि निर्मला क्षेत्रीले पार्टीलाई रूपान्तरण गर्न जनविश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै जरा अभियानमार्फत युवा, महिला तथा आम नागरिकलाई पार्टीसँग जोड्ने अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्तरका समस्याहरूलाई पहिचान गरी समाधान खोज्ने प्रक्रियामा पनि अभियानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । क्षेत्रिय सभापति झमन राज मगरले जरा अभियानलाई संगठन सुदृढीकरणको आधारशिला भएको बताउँदै तल्लो तहदेखि नै पार्टीलाई मजबुत बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो। उहाँले क्रियाशील सदस्यता अद्यावधिकलाई पार्टीको जीवनरेखा भएको उल्लेख गर्दै प्रत्येक सदस्यलाई जिम्मेवार र सक्रिय बनाउनु अपरिहार्य रहेको धारणा राख्नुभयो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य हासिल गर्नुपर्ने, नियमित सम्पर्क, समन्वय र सक्रिय सहभागिताबाट मात्र संगठनलाई चलायमान बनाउन सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा क्षेत्र नं. १ प्रदेश (क) का सभापति राम बहादुर रानाले स्वागत मन्तव्य राख्दै अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव मधु पराजुलीले गर्नु भएको हो ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend