शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

पाल्पाको मगर बस्तीमा यस वर्ष पनि नचाइयो घाटु (तस्विरहरु)



वैशाख २० ।
पाल्पा, वैशाख पूर्णिमाको अवसर पारेर पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न वस्ती बस्तीहरुमा यस वर्ष पनि घाटु नचाइएको छ । मगर समुदायमा शुक्रबार देखि सुरु भएको घाटु नाच आइतबार आज विधि पूर्वक सेलाइदैछ ।



सदियौं देखि सुरु भएको घाटु अधिकांश स्थानमा लोप भए पनि जिल्लाको पूर्वी क्षेत्रका केही स्थानमा कायम नै रहेको छ । निस्दी–७, को ज्यामिरेमा पूर्णिमाको दिन घाटु सेलाईसके पनि शुक्रबार देखि निस्दीको वडा नं. ३, ४, ५ का केही टोलहरुमा घाटु नाच प्रदर्शनी गरिएको छ । सती घाटु वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक सुरु गरिने नाच याहाँ ३ दिन सम्म नचाइन्छ । कथा गीतमार्फत प्रस्तुत गरी घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ । यस वर्षको घाटु नाच आइबार आज साँझ विधिवत् रुपमा पूजा गरी सेलाईदै छ ।

घाटु नचाइने स्थानहरुमा अवलोकनका लागि जानेहरुको उपस्थिति बाक्लो देखिएको थियो । घाटुका गुरुआमा रहनु भएका निस्दी गाउँपालिका–४, भोर्माका ७४ वर्षीय पार्वती ठाडाले पुस्तौंपुस्ता देखि चल्दै आएको घाटु नाचलाई निरन्तरता दिदै आएको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सती घाटु नाचाईदै आएको छ । राजाको निधन पश्चात रानी सती जाने भएकाले सती घाटु भनिएको हो । घाटुको गीतमा परशुराम राजा, यम्पावती रानीको कथा रहेको र यही कथावस्तुलाई आधार बनाई नचाइन्छ ।

‘राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र मृत्युसम्मको कथालाई गीत बाट प्रस्तुत गरी घाटु नचाइन्छ ।’ ठाडाले भन्नुभयो । गीत संगै कथावस्तुको आधारमा पात्र अनुसार अभिनय पनि गरिन्छ । घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाहरुले गाउने र घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराईकन गाउनुपर्ने भएकाले जो केही गुरुमा बन्न नसक्दा हराउने हो कि भन्ने चुनौति देखिएको छ । जसका कारण कुनै समय जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रदर्शन गरिने घाटु संस्कृति अहिले केही स्थानमा सिमित देखिएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीको दिन गीतको थालनी गरेर चण्डी पूर्णिमाको दिन देखि तीन दिन सम्म निरन्तर घाटु नचाईदै आएको ७६ वर्षीय सर्मौती खाम्चाले बताउनुभयो । गीत मार्फत सम्पूर्ण देवी देवताको नाम लिएर मात्र घाटुको सुरु गरिने उहाँले बताउनुभयो । गाउँको राम्रो होस्, कोही कसैलाई केही नहोस् भन्ने कामनासाथ घाटु नाचिने उहाँको भनाइ छ । घाटु नाच्न छाडेमा गाउँमा देवीदेवता रिसाउँछन् भन्ने मान्यता रहेकाले हरेक वर्ष नचाईदै आएको खाम्चाले बताउनुभयो । घाटु नाच्दै आउनु भएका किशोरी विष्णु माया ठाडाले एक पटक नाचे पछि विवाह नभए सम्म प्रत्येक वर्ष नाच्नु पर्छ भन्ने मान्यता रहेकाले नयाँ पुस्ता सामेल हुन नचाहाने गरेको बताउनुहुन्छ । केही वस्तीहरुमा परम्परादेखि चल्दै आएको घाटु नाच अहिले सम्म देखाईदै आएपनि धेरै गाउँबस्तीबाट लोप भइसकेको छ ।

भोर्माका महिला नेतृ सुमित्रा ठाडाले कन्याहरु आफ्‌नै खर्चमा सजिएर घाटुमा सहभागी हुने गरेको बताउनुभयो । व्यवस्थापनको लागि प्रत्येक घर बाट खर्च जुटाएर संस्कृतिलाई निरन्तरता दिदै आएको बताउनुभयो । व्यवस्थापनको लागि प्रत्येक घर बाट खर्च जुटाएर संस्कृतिलाई निरन्तरता दिदै आएको भोर्माका नरेश सुनारीले बताउनुभयो । घाटु नाच महिला गुरुआमाको नेतृत्वमा नचाइदै आए पनि निस्दी–५, बेलौजीमा भने गुरुबा ७८ वर्षीय हुम बहादुर सुनारीको नेतृत्वमा घाटु प्रदर्शन भैरहेको छ । पछिल्लो वर्ष सुनारी कै नेतृत्वमा घाटुलाई निरन्तरता दिदै आएको स्थानीय युवा यम बहादुर सारुले जानकारी दिनुभयो । टोलमा गठन भएको संस्कृति जगेर्ना समिति मार्फत घाटुको संरक्षणका लागि पहल हुँदै आएको उहाँले बताउनुभयो ।

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं. ३ को दुनीडाँडा, वडा नं. ४ को भोर्मा, भिरपानी, वडा नं. ७ को ज्यामिरे बतासामा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा ढोलिमारामा पनि घाटु नचाइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend