शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

कृषि विषय अध्ययनरत विद्यार्थीलाई माटो परीक्षण सम्बन्धी प्रशिक्षण प्रदान



जेठ ३ ।
पाल्पा, कृषि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई पाल्पा क्षेत्र नं. १ मा रैथाने बाली संरक्षण तथा माटो परीक्षण प्रशिक्षण प्रदान गरिएको छ । क्षेत्र भित्रका कृषि बाली विज्ञानको कक्षा सञ्चालन हुँदै आएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किसान संग जोड्न पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालयले आइतबार रामपुरमा प्रशिक्षण प्रदान गरेको हो ।



“मेरो सांसद मेरो अधिकार” कार्यक्रम अन्तर्गत क्षेत्र भित्र रहेका ३७ वटै वडामा माटो परीक्षण गरी माटो सुहाउँदो एक वडा एक कृषि बाली उत्पादनको अभियान सञ्चालनका लागि कृषि बाली विज्ञान कक्षा सञ्चालन गर्दै आएका चार विद्यालयका १६० विद्यार्थीलाई आइतबार प्रशिक्षण दिएको हो । कार्यक्रमको शुभारम्भ गर्नु हुदै प्रतिनिधि सभा सदस्य सन्दीप रानाले कृषि बाली विज्ञान विषय अध्ययन गरिरहनु भएका विद्यार्थीहरुलाई विषय छनौटका लागि धन्यवाद दिनुभयो । कृषि क्षेत्र देख्दा सामान्य देखिए पनि मुलुकको विकास र मानव जीवन संग प्रत्यक्ष जोडिएको बताउनुभयो ।

कृषि पेशालाई तल्लो स्तरमा हेर्ने प्रचलनका कारण उर्वर भुमि बाँझो हुँदै जाने र खबौंको कृषि उत्पादन आयात गरी खानुपर्ने अवस्था सृजना भैरहेको बताउनुभयो । ‘हामीले हाम्रो देशलाई समृद्धि तर्फ लैजाने भनेका छौं । विकास तर्फ लैजाँदै गर्दा कृषि प्रधान देश नेपाललाई कृषिमा अत्मनिर्भर बनाउन सकिएन भने कसरी प्राप्त हुन्छ समृद्धि ?’ उहाँले भन्न्नुभयो । कृषि प्रधान देश नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै २८१ अर्ब बढीको कृषि उपज आयात भएको तथ्याङ्कले देखाएको स्मरण गराउँदै कृषि क्षेत्रलागि अघि बढाउन नसके सम्म मुलुकको समृद्धि सोच्न नसकिने बताउनुभयो । आफ्नो परिवारलाई पुग्ने अन्न आफैले उत्पादन गर्न सकेमा मात्र विकासले गति लिने धारणा राख्नुभयो । उहाँले भन्न्नुभयो, ‘कृषिमा आत्मनिर्भर बनाउन सकिएको भए त्यही पैसाले विकासका अन्य विकासको योजना अघि बढाउन सक्ने थियौं । यो देशलाई समृद्ध बनाउने हो भने सबै भन्दा पहिले आफ्नो परिवारलाई खानपुग्ने अन्न हामी आफैले उत्पादन गर्न सक्नुपर्छ ।’

गाउँले कृषि मार्फत शहरलाई पाल्नु पर्नेमा गाउँगाउँमा बाटो त पुगेपनि बजार बाट किनेरमा गाउँमा खानु पर्ने अवस्थाको अन्त्यका लागि कृषिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । माटोको अवस्था सुधार गरी स्वस्थ्य खानेकुरा उत्पादनमा ध्यान दिने समय आएको बताउनुभयो । अत्याधिक रसायनिक मल तथा विषदीको प्रयोगका कारण माटोको अवस्था विग्रिएको स्मरण गराउँदै उत्पादन भएका उपजले स्वस्थ्यमा पनि असर गरिरहेको बताउनुभयो । माटोको उपचारको लागि पहिलो चरणमा कार्यक्रमको थालनि गरिएको जानकारी दिदै अभियानले क्षेत्रको कृषकहरूलाई माटो उपचार र माटो सुहाउदो कृषि वाली उत्पादन गर्नमा लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो । हाँले रैथाने बाली मास्दै जानु र विर्सिदै जानु चिन्ताको विषय रहेको बताउनुभयो ।

उहाँका अनुसार अभियानमार्फत क्षेत्रका कृषकलाई माटो परीक्षण, माटो उपचार तथा माटो सुहाउँदो कृषि बाली उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले अत्याधिक रसायनिक मल तथा विषादीको प्रयोगका कारण देशै भर माटोको अवस्था विग्रिदै गैरहेको अवस्थामा कार्यक्रमले महत्वपूर्ण टेवा दिने बताउनुभयो ।

रामतुलसी नमुना माध्यमिक विद्यालय अध्यक्ष विशाल श्रेष्ठ (अशोक)ले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान संगै व्यवहारिक ज्ञान प्रदान संगै कृषकहरुलाई राहत हुने बताउनुभयो । रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरलाई थप हौसला प्रदानका लागि कार्यक्रम सञ्चालन भएकोमो आभार व्यक्त गर्नुभयो । पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालयका कृषि विज्ञ कपिल पाण्डेले माटो परीक्षणको महत्व बारे जानकारी गराउँदै विद्यार्थीलाई किसान संग जोड्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रैथाने बालीको संरक्षण सहित कृषि क्षेत्रको विकासका लागि माटो परीक्षण, प्राविधिक तालिम, आधुनिक कृषि प्रविधि तथा जैविक खेती प्रवद्र्धन अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पाल्पा, रामपुर नगरपालिका र राम तुलसी माध्यमिक विद्यालयको समन्वय भएको हो । कार्यक्रममा रामतुलसी मावि रामपुर, जनकल्याण मावि रम्भा, उद्दबुद्ध मावि पूर्वखोला र जनता मावि निस्दीमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । रामतुलसी मावि रामपुरमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र पाल्पाका नायब प्राविधिक सहायक रबिन बुढा, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे सहित रामपुर नगरपालिकाका प्रविधिकहरुले माटोको नमुना संकलन, माटो परीक्षणको प्रक्रियाको बारेमा प्रशिक्षण दिएका थिए ।

पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालयका कृषि विज्ञ कपिल पाण्डेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जु परियारले गर्नु भएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम कै अवसरमा रामतुलसी माध्यमिक विद्यालयले पूर्व विद्यार्थी समेत रहनु भएका प्रतिनिधि सभा सदस्य रानालाई ढाका टोपी र खादाले सम्मान गरेको थियो । रामतुली माविका अध्यक्ष विशाल श्रेष्ठ (अशोक), समिति सदस्य शेषकान्त भट्टराई, दुर्गा देवि राना, प्रधानाध्यापक बालकृष्ण लम्सालले सम्मान गर्नु भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend