जेठ ४ ।
पाल्पा ,रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो रामपुर सन्दर्भ सामग्री’ विमोचन गरेको छ । समग्र रामपुर नगरपालिकाको वस्तुस्थितीलाई समेटेर तयार गरिएको सन्दर्भ सामग्री सोमबार विमोचन गरेको हो ।
नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय विषयबस्तु बारे जानकारी गराउने उद्देश्यले स्थानीयस्तरमा रहेका विभिन्न विषयबस्तुलाई समेटेर सन्दर्भ सामग्री प्रकाशन गरेको हो । सन्दर्भ सामग्रीमा नगरको भौगोलिक अवस्था, ऐतिहासिक पृष्ठभूमि, समाज र संस्कृति, जातजाति, संस्कार तथा संस्कृति र वन वातावारण तथा पर्यटन लगाएतका विषयवस्तु समेटिएको छ । साथै प्रत्येक वडा÷वडाको वस्तुगत विवरण, प्रमुख बस्ती, प्रमुख पेशा, जात, धर्म, संस्कार संस्कृति, विकासका पूर्वाधार, आर्थिक क्रियाकलाप, वनवनस्पति, वन्यजन्तु, पर्यटकीय स्थल, धार्मिक महत्व बोकेका स्थान, विपद् र व्यवस्थापन लगाएतको विषयलाई प्रस्तुत गरिएको छ ।
नगरपालिकाले सन्दर्भ सामग्री निर्माणका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदल गठन गरेर सान्दर्भ सामग्री तयार गरेको हो । कार्यदलले हरेक वडा/वडामा पुगेर सामूहिक छलफल र अन्तरक्रिया मार्फत स्थानीयबासीmसंग वास्तविकता बुझेर सन्दर्भ सामग्री तयार गरेको कार्यदलका संयोजक देवराज देवकोटाले जानकारी दिनुभयो । बस्तीस्तरमै पुगेर लेखन गर्दा त्यहाँको वास्तविकता थाहा पाइने भएकाले गाउँ टोलमै पुगेर यथार्थ विषयबस्तु समेटेको उहाँले बताउनुभयो ।
नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरे पनि शिक्षण सामग्री नहुँदा सिकाइमा एक रुपता नभएको भन्दै यसका लागि सन्दर्भ सामग्री तयार गरिएको शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । नगरपालिका भित्रका प्रत्येक वडालाई समेटेर वडागत जानकारी समेटिएको उहाँले बताउनुभयो । कक्षा शिक्षणको क्रममा सन्दर्भ सामग्री नहुँदा कक्षा शिक्षण गर्न शिक्षकलाई पनि असहज भएपछि यसको सहजताका लागि पनि सन्दर्भ सामग्री प्रकाशन गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।
पाठ्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका र शिक्षण सिकाईलाई सशक्त बनाउन हाम्रो रामपुर नामक सन्दर्भ सामग्री निर्माण गरेको रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । साथै यसले विद्यार्थीहरुको सिकाई संगै स्थानीय विषयवस्तुको ज्ञानमा एक रुपता ल्याउने उल्लेख गर्नुभयो । विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर विषय बारे अध्ययन गरे पनि आफ्नै गाउँ ठाउँको बारेमा जानकारी नहुँदा स्थानीयस्तरको विषयमा ज्ञान दिने उद्देश्यले हाम्रो रामपुर सन्दर्भ सामग्री प्रकाशन गरेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
उहाँले स्थानीय धर्म, जातजाति, भाषा, कला, संस्कृति, सीप र प्रविधिको संरक्षण तथा संवद्र्धन गर्दै भावी पुस्तालाई आफ्नै पहिचानसँग जोड्नका लागि सन्दर्भ सामग्री प्रकाशन गरेको बताउनुभयो । रामपुर नगरपालिकाले २०८० सालमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेकोमा सिकाईलाई प्रभावकारी बनाउन सन्दर्भ सामग्री प्रकाशन गरेको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend