असार ४ ।
पाल्पा, रामपुर नगरपालिका भित्रका एक वर्षदेखि पाँच वर्ष भित्रका बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु भएको छ । रामपुर नगरपालिका आयुर्वेद शाखाले विहीबार देखि एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन सुरु गरेको हो ।
रामपुर आयुर्वेद अस्पताल बाट आयुर्वेद चिकित्सकको निगरानीमा स्वर्णविन्दु प्राशन सुरु गरिएको हो । हरेक महिना कुशे नक्षत्रका दिन सञ्चालन गरिने कार्यक्रमको लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । दिप प्रज्वलन संगै बालबालिकालाई स्वर्णविन्दु थोपा खुवाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, कार्यपालिका सदस्य मायाँ नेपाली लगाएतको उपस्थिति रहेको थियो । पहिलो पटक सुरु भएको कार्यक्रम बाट २ हजार ५२ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराईएको रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलले जानकारी दिनुभयो । आज देखि नगर भित्रका बालबालिकालाई हरेक महिना कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने कार्यक्रम रहेको पोखरेलले बताउनुभयो ।
आयुर्वेद चिकित्सक रहेको अस्पताल बाट कुशे नक्षत्रका दिन मात्र स्वर्णविन्दु खुवाइने भएकाले विहान ६ बजे देखि सुरु भएको स्वर्णविन्दु प्रशानका लागि रामपुर आयुर्वेद अस्पतालमा विहान बालबालिका र अभिभावकहरुको भिड लागेको थियो । अपरान्ह पौने ६ बजे सम्म कार्यक्रम सञ्चालन भएको थियो । आयुर्वेद चिकित्सक डा. करुणा पाठकले स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने र उपयुक्त तापक्रममा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिनुभयो ।
सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा स्वर्णविन्दु प्राशन सेवन गराईएको डा. प्रतिभा गुप्ताले बताउनुभयो । कार्यक्रममा बालबालिकाको उचाई, तौल समेत लिईएको थियो । रामपुर नगरपालिका भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविकाको सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो ।
झाडा पखाला र ज्वारो आएका बालबालिका बाहेक उमेर समूह भित्रका बालबालिकालाई आगामी असार ३१ गते स्वर्णविन्दु प्राशन गराउने कार्यक्रम रहेको छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि नगरपालिकाले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो ।




© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend