असार ६ ।
पाल्पा, पाल्पा क्षेत्र नं. १ का कृषकहरुको लागि माटो परीक्षण शिविर सुरु भएको छ । प्रतिनिधि सभा सदस्य सन्दीप रानाले पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालय मार्फत शिविर सञ्चालन गर्नु भएको हो ।
३७ वटै वडामा माटो परीक्षण गरी “माटो सुहाउँदो एक वडा–एक कृषि बाली उत्पादन” अभियान सञ्चालन गर्ने आफ्नो सङ्कल्प अनुसार रानाले रामपुर नगरपालिका बाट माटो परीक्षण कार्यक्रम शुभारम्भ गर्नु भएको हो । “मेरो सांसद, मेरो अधिकार” कार्यक्रम अन्तर्गत कृषि उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि माटो सुधारको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको हो ।
शनिबार संसदीय सचिवालयले रामपुर नगरपालिकाको समन्वय र कालीगण्डकी फाण्डेशनको व्यवस्थापनमा रामपुरमा शिविर सञ्चालन गरेको थियो । शिविरको शुभारम्भ गर्नुहुँदै प्रतिनिधि सभा सदस्य रानाले सन्दीप रानाले कृषि उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि माटोको स्वास्थ्य सुधार अपरिहार्य रहेको बताउनुभयो । विकासलाई सडक, पुल, विद्यालय र अस्पताल निर्माणमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै कृषि उत्पादन वृद्धिलाई पनि विकासको प्रमुख आधारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
नेपाललाई कृषि प्रधान देश भनिए पनि ठूलो परिमाणमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै खेतबारी बाँझिने तथा माटोको उर्वराशक्ति घट्दै जाँदा उत्पादनमा कमी आएको बताउनुभयो । “मानिस बिरामी हुँदा स्वास्थ्य परीक्षण र उपचार गरेझैँ माटोको पनि परीक्षण र उपचार आवश्यक छ,” उहाँले भन्नुभयो, “माटोमा आवश्यक पोषक तत्वको अवस्था पहिचान गरी सुधार गर्न सके उत्पादन उल्लेखनीय रूपमा बढाउन सकिन्छ ।” कृषि ज्ञान केन्द्र तथा स्थानीय तहहरूले माटो परीक्षण सेवा सञ्चालन गरिरहेको भए पनि परीक्षणको महत्वका बारेमा थप जागरण ल्याउन शिविर सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।
“माटो परीक्षण शिविरहरु सञ्चालन भए पनि सचेत कृषकहरूले मात्र माटो परीक्षण गराउने अवस्था छ, अब प्रत्येक किसानले आफ्नो खेतबारीको माटो जाँच गराएर मात्र कृषि बाली लगाउन अभिप्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।” उहाँले भन्नुभयो । रानाले पछिल्लो समय रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोगले माटोको गुणस्तरमा नकारात्मक असर परेको उल्लेख गर्दै यसले मानव स्वास्थ्यमा समेत दीर्घकालीन समस्या निम्त्याइरहेको बताउनुभयो । स्वस्थ माटोबाट उत्पादन भएको अन्नले मात्र स्वस्थ जीवन सुनिश्चित गर्न सक्ने भएकाले माटो संरक्षण र सन्तुलित कृषि अभ्यासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
कृषि क्षेत्रको दिगो विकासका लागि माटोको संरक्षण, वैज्ञानिक खेती प्रणाली र किसानको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रम रामपुर नगरपालिका पश्चात निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकामा स्थानीय तहसंग सहकार्य गरी कार्यक्रम गरिने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले विभिन्न समयमा माटो परीक्षण शिविर सञ्चालन गर्दा अम्लियपनको समस्या देखिएकाले उपचारको लागि कृषि चुन समेत वितरण गरेको जानकारी दिनुभयो । अभियानको रुपमा सञ्चालन भएको कार्यक्रमले माटो उपचारको महत्वलाई थप उजागर गर्ने बताउँदै नगरपालिका आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
व्यवसायिक कृषक दिल बहादुर थापाले व्यवसायिक र आधुनिक कृषिका लागि माटोपरीक्षण अपरिहार्य रहेको बताउँदै कृषकहरुमा थप उत्साह जगाएको बताउनुभयो । पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालयका कृषि विज्ञ निर्जल पाण्डेले माटो परीक्षणको महत्व बारे जानकारी गराउँदै रैथाने बाली संरक्षण तथा स्थानीय उत्पादनलाई प्रोत्साहनका लागि प्राथमिकता दिएर परीक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका–५ नहर अफिसमा भएको शिविरमा परीक्षणका लागि रामपुर नगर भित्र बाट ४ सय माटोको नमुना प्राप्त भएको आइतबार सम्ममा परीक्षण सम्पन्न गरी रिपोर्ट प्रदान गर्ने बताउनुभयो ।
शिविरमा माटोमा नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रासंगै अम्लियपना जाँच गरी उपयुक्त बाली सिफारिस समेत गरिएको छ । साथै माटोमा राख्नुपर्ने मलको मात्राको बारेमा समेत सिफारिस गरेको छ । कार्यक्रमको सञ्चालन कालीगण्डकी फाण्डेशन नेपालका सदस्य सन्जु परियारले गर्नु भएको हो । परीक्षण कार्य रामपुर नगरपालिकाका कृषि प्राविधिक संगै कृषि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको सहयोगमा भैरहेको छ । कृषकहरुलाई प्रतिनिधि सभा सदस्य माटो परीक्षण पश्चात माटो स्वास्थ्य कार्ड प्रदान गरिएको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend