असार ३१ ।
पाल्पा, रामपुर नगरपालिकाले नगर भित्रका बालबालिकाहरुलाई बुधबार स्वर्णविन्दु प्राशन गराएको छ । एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई रामपुर नगरपालिका आयुर्वेद शाखाले रामपुर आयुर्वेद अस्पताल बाट स्वर्णविन्दु प्राशन गराएको हो ।
नगरपालिकामा गत असार ४ गते देखि स्वर्णविन्दु प्राशन कार्यक्रमको थालनी भएको थियो । दोस्रो पटक भएको कार्यक्रम बाट एक हजार ५२७ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराईएको रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलले जानकारी दिनुभयो । हरेक महिना कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने कार्यक्रम रहेको पोखरेलले बताउनुभयो ।
आज विहान साढे पाँच बजे बाट स्वर्णविन्दु प्राशन सुरु भएको थियो । आयुर्वेद चिकित्सकहरुका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्नेछ । स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने र उपयुक्त तापक्रममा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइएको हो ।
सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा स्वर्णविन्दु प्राशन सेवन गराईएको प्रमुख पोखरेलले बताउनुभयो । पहिलो पटकमा भिडभाड भएपछि यस पटक थप व्यवस्थित गरी कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिका भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविकाको सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । आगामी कार्यक्रम साउन २७ गते सञ्चालन हुनेछ ।


© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend