शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

बाढी पश्चात सम्पर्कविहीन पाल्पालीका परिवारलाई कांग्रेसको राहत


  • शुक्रबार, भाद्र १९ २०८३ , पूर्वाह्न ०६:२० बजे

भदौ १९ ।
पाल्पा, नेपाली कांग्रेस पाल्पाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चात सम्पर्क विहीन भएका जिल्लाका नागरिकको परिवारलाई भेटेर राहत रकम उपलब्ध गराएको छ । सम्पर्क विहीन भएका नागरिकहरुको परिवारलाई भेटेर परिवारको वर्तमान अवस्था, सरकारी स्तर बाट भएका पहलको विषयमा जानकारी लिनुका साथै तत्कालको लागि राहत रकम उपलब्ध गराएको हो ।



नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा सम्बन्धित व्यक्तिको परिवार सम्म पुगेर राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ । भोटेकोशीको बाढी पश्चात् सम्पर्क विहीन हुनुभएका रामपुर नगरपालिका-७ मोहोटी निवासी युवराज सुति (रामु) र उहाँको छोरा अमृत सुतिको घरमा सभापति श्रेष्ठ सहित पार्टीका नेता तथा कार्यकर्ताहरुले सहानुभुति प्रकट गर्नु भएको थियो । सभापति श्रेष्ठले विपद्का कारण परिवारको सदस्य सम्पर्क विहीन हुँदा परिवारजनले भोग्नुपरेको पीडा गम्भीर रहेको बताउँदै दुःखको समयमा पीडित परिवारलाई साथ दिनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले सुति बाबू छोराको खोजी तथा उहाँको अवस्थाबारे यथाशीघ्र सकारात्मक जानकारी प्राप्त होस् भन्ने कामना गर्दै परिवारलाई आवश्यक सहयोगका लागि निरन्तर साथमा रहने प्रतिवद्धता जनाउनु भयो ।

श्रेष्ठले पार्टीको तर्फ बाट नगद १० हजार युवराज सुतिको श्रीमती सरिता सुतिलाई हस्तान्तरण गर्नु भएको थियो । भेटघाटका लागि नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहा, जिल्ला सहसचिव हमिद मियाँ, सदस्य हिमालदत्त श्रेष्ठ, नेपाली कांग्रेस रामपुर सभापति नेत्र प्रसाद भट्टराई, सचिव ओम प्रकाश बस्याल, राम प्रसाद ढकाल, रम्भा गाउँपालिका सभापति ऋषिराम अर्याल, रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी लगाएत समाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सुति बाबू छोरा बाढी पश्चात् सम्पर्क विहीन भएपछि परिवार उहाँको सकुशल खोजी तथा उद्धारको आशामा रहनुभएको छ ।

यस्तै नेपाली कांग्रेस पाल्पाले रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका आन बहादुर कुमालको परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । बाढी पश्चात सम्पर्क विहिन हुनु भएका कुमालको घरमै पुगेर नगद १० हजार रुपैयाँ सहित दुई बोरा चामल, तेल, आटा लगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो । सशस्त्र प्रहरी बलमा कार्यरत रहनुभएका कुमाल कर्तव्य पालनको क्रममा रसुवाको टिमुरे क्षेत्रमा रहनुभएको अवस्थामा नदीमा आएको बाढीपछि सम्पर्क विहीन हुनुभएको परिवारले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रम्भा–१ का वडा सभापति विष्णु पछाई, नाट्टा पाल्पाका अध्यक्ष  राजीव कुमार शाह, तरुण दल पाल्पाका जिल्ला सदस्य कोपिल पाण्डे लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस पाल्पाले यसअघि भोटेकोशी बाढीमा परी ज्यान गुमाउनुभएका तानसेन नगरपालिका–१० का नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार स्वर्गीय दिपेन्द्र विष्टको परिवारलाई पनि नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । कांग्रेस पाल्पाले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

रामपुर नगरपालिका–७ का युवराज सुति (रामु), उहाँको छोरा अमृत सुति र सशस्त्र प्रहरी बलमा कार्यरत रैनादेवी छहरा गाउँपालिका १ का आन बहादुर कुमाल सहित भोटेकोशी बाढी पश्चात् पाल्पाका ९ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।  रसुवा हाईड्रोपावरमा कार्यरत टिप्पर चालक रिब्दीकोट गाउँपालिका–३ का विकाश नेपाल, रसुवा हाईड्रोपावरमा कार्यरत रिब्दीकोट–५ का कृष्ण बहादुर बस्याल, रसुवा हाईड्रोपावरमा कार्यरत मोकानिकल सुपरभाईजर तिनाउ–५ का रमेश थापा, लाङटाङ राष्ट्रिय निकुञ्जका बनरक्षक तानसेन नगरपालिका –७ का निलम कार्की र रसुवा हाईड्रोपावरमा कार्यरत बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री सम्पर्क विहीन हुनु भएको हो । टिमुरे रसुवामा कार्यरत प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको शव गोरखामा फेला परेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend