पाल्पा ,नेपाली काँग्रेसकाे १०० दिने विशेष अभियान कार्यक्रम तथा क्रियाशील सदस्य नवीकरण फारम हस्तान्तरण कार्यक्रम रम्भा गाउँपालिका ४ ताँहु पाल्पामा शनिबार सम्पन्न भएकाे छ ।नेपाली काँग्रेस क्षेत्र नं.१ पाल्पाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा १०० दिने अभियानका केन्द्रीय प्रतिनिधि भरत कुमार शाहले काँग्रेस एमाले विचकाे बर्तमान गठबन्धनको सरकार रहरले नभई बाध्यताले बनेको बताउनुभयो । संविधानकाे रक्षाका लागि दुई ठुला दल मिलेर सरकार गठन भएको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशलाई बलियो बनाउनका लागि संविधान संशोधन आवश्यक रहेकाे अैाँल्याउनुभयाे । उहाँले भन्नुभयो – “राज्यका तहगत संरचनालाई थप अधिकार प्रदान गरि अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यक छ तर संशोधनकाे नाममा विभिन्न आरक्षण काेटा काटिनु हुँदैन ।”उहाँले स्थानीय सरकार र प्रदेश सरकारकाे धेरै अधिकार संघ सरकारले राखेको भन्दै विकास र समृद्धिका लागि अधिक मात्रामा अधिकार दिन आवश्यक रहेकाे बताउनुभयो । शाहले कामले जनताकाे मन जित्न सके जुनसुकै निर्वाचन जित्न सकिने भन्दै जनतालाई भराेसा दिलाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।जनता संधै कुनै एउटा पार्टीको मात्र नहुने भन्दै जनता विकास र कामकाे पक्षमा हुने भएकाले उच्च मनाेबलका साथ जनताप्रति उत्तरदायी भएर लाग्नु पर्नेमा जाेड दिनुभयो ।
यस्तै नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका सांसद बिर बहादुर रानाले जनताले सरकारकाे अनुभूति गर्न नसक्नु दुखद रहेको बताउनुभयो । तीन तहकाे सरकार भए पनि जनताको आवश्यकता र भावनालाई बुझेर चाहना पूरा गर्न नसक्दा सरकारकाे अनुभूति गर्न नसकेको बताउनुभयो ।यसका लागि सबैकाे भावनाकाे प्रतिनिधित्व गर्न सक्ने नेतृत्वकाे खाँचो रहेकाे बताउनुभयो । “पाल्पा क्षेत्र नं.१ का जनताकाे चाहना पूरा गर्नका लागि नेपाली काँग्रेसकाे नेतृत्व आवश्यक छ”उहाँले भन्नुभयो-” यसका लागि संगठनलाई मजबुत बनाई जनतालाई पार्टी संग जाेड्नु पर्छ। ” उहाँले पार्टीको अधिवेशन र निर्वाचनको समयमा मात्र सक्रियताले मात्र पार्टी चलायमान हुन नसक्ने भन्दै तहगत संरचनामा रहेका नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नु भएकाे छ ।
यसैगरी लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीले संगठनलाई बलियो र चलायमान बनाउनका लागि विशिष्ट याेजना र रणनीतिका साथ लाग्नु पर्नेमा जाेड दिनुभयो ।यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप रानाले संगठन विस्तार र मजबुतीका लागि सबै भातृ संघ संगठनलाई चलायमान बनाएर लाग्नु पर्ने बताउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.१ पाल्पाका सभापति झमन बहादुर राज मगरले पार्टीकाे संगठन बलियो बनाउनका लागि सबैले पदीय जिम्मेवारी पूरा गर्न आवश्यक रहेकाे बताउनुभयाे । नेपाली काँग्रेस क्षेत्र नं.१ काे कार्यालयमा भएकाे कार्यक्रममा सहभागीले क्षेत्र नं.१ पाल्पाको विकास र संगठनलाई मजवुत बनाउनका लागि केन्द्र र प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेकाे बताए।क्षेत्र नं.१ काे विकासका लागि पार्टीले सिफारिस गरेका याेजनालाई प्राथमिकतामा राख्नु पर्ने , यस क्षेत्रकाे प्रतिनिधित्व हुने गरि विभिन्न तहमा प्रतिनिधि चयन गर्नु पर्नेमा जाेड दिएका छन।
कार्यक्रमका अवसरमा पार्टीको क्रियाशील सदस्य नविकरण फारम वितरण गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं.१ पाल्पाका सभापति झमन राज मगरकाे अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा १०० दिने अभियानका प्रतिनिधि भरत कुमार शाहकाे प्रमुख आतिथ्यता र क्षेत्रीय सचिव कपिल बहादुर खाँणकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।