माघ १५ ।
पाल्पा, रामपुरमा चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको भव्यताका साथ समुद्घाटन भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षण आगामी माघ २७ सम्म हुने मेलाको मंगलबार सांस्कृतिक झाँकी प्रदर्शन सहित समुद्घाटन गरिएको हो ।
मौलिक संस्कृतिमा आधारित झाँकी प्रदर्शनी सहित सुरु भएको मेलाको वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले समुद्घाटन गर्नु भएको हो । कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेला समुद्घाटनको अवसरमा कालीगण्डकी वेशी क्षेत्रमा रहेका विभिन्न जातजाति र समुदायको संस्कृतिमा आधारित झाँकी पर्दशन गरीएको थियो ।
पञ्चेबाजा, मगर समुदायको मारुनी, कौरा, झ्याउरे, गुरुङ समुदायको घाटु, लामा नाच, नेवार समुदायको लाखे, लोपन्मुख दशावतार वालन सहित भुजेल, दरै, कुमाल, ठकुरी, क्षेत्री समुदायले आ–आफ्ना भेषभुषा सहित संस्कृति प्रदर्शन गरेका थिए । झाँकी र्यालीमा रामपुर नगर तथा कालीगण्डकी वेशी क्षेत्रका संघ संस्था र विद्यालयहरु पनि सहभागीता जनाएका थिए । समुद्घाटनमा हजारौंको सहभागीता रहेको थियो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले चौथो संस्करणको मेला विशेष गरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार संगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ मेला सञ्चालन गरिएको जानकारी दिनुभयो । मेला समुद्घाटनमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, लुम्बिनी प्रदेशका पूर्व मन्त्री विर बहादुर राना, लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा लगाएत, विभिन्न राजनैतिक दल तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उट्घाटन अघि रामपुर उद्योग वाणिज्य संघको सभाहल नहर अफिस बाट सुरु भएको झाँकी सहितको र्याली बेझाँड बजार हुँदै महोत्सव स्थलमा पुगेको थियो । त्यस पश्चात विभिन्न समूहलाई पालैपालो संस्कृति प्रदर्शनको लागि समय प्रदान गरिएको थियो । मेलामा ३ सय ५० भन्दा बढी व्यापारिक स्टलहरु मध्ये स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकता दिईएको संघले जनाएको छ । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाका लागि चार वटा स्टल राखिएको छ । विगतको तुलनामा मेलालाई थप परिस्कृत र सुधार गरी सञ्चालन गर्ने तयारी गरिएको छ । मेलामा दुई देखि तीन लाख दर्शक भित्र्याउने र एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।
रामतुलसी माविको खेल मैदान बेझाँडमा १३ दिन सम्म सञ्चालन हुने मेलामा प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend