
पाल्पा ,नेपाल स्काउटकाे दिक्षान्त कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेश स्थानीय स्काउट कार्यालयले विहिवार रामपुर नगरपालिकामा रहेको स्थानीय स्काउटका संरक्षक , प्रमुख स्काउट र सदस्य सचिवलाई दिक्षित गरेको हो । रामपुर नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरि संरक्षक नगर प्रमुख रमण बहादुर थापा , प्रमुख स्काउट नगर उपप्रमुख बाल कुमारी थापा र शिक्षा शाखा प्रमुख विकल काफ्लेलाई दिक्षित गरेको हो ।
दिक्षान्त कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्काउटले विद्यार्थीलाई नैतिकता र जिम्मेवारी संगै परोपकारी बन्न सिकाउने बताउनुभयो । उहाँले विपदको समय र मानवीय संकटको समयमा सहायता र उद्दारको काम गर्ने भावनाको विकास स्काउटले पूर्ण रुपमा गराउने उल्लेख गर्नुभयो । साथै समृद्ध नगरपालिका निर्माणका लागि स्काउट आवश्यक रहेको भन्दै आगामी दिनमा हातेमालो गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै रामपुर नगरपालिकाका उपप्रमुख तथा प्रमुख स्काउट बाल कुमारी थापाले स्काउटले विद्यार्थीहरुलाई सेवाको भावना संगै परोकारी काम गर्न उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले सबै विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रह्को भन्दै हरेक विद्यालयमा विद्यार्थीको संख्या बढाएर स्काउट सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल स्काउटका लुम्बिनी प्रदेश सदस्य सुशीला गोदारले रामपुरको स्काउट प्रदेश मै गर्व गर्ने स्थानको रुपमा रहेको भन्दै शिक्षकहरुलाई दिक्षित गरि स्काउटको गतिविधिलाई थप चलायमान बनाउन नगरपालिकाले बजेटको व्यवस्था गर्नु पर्नेमा जाेड दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले स्काउट तटस्थ संस्था भएको भन्दै सबैले अपनत्व अनुभूति हुने गरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका नगर शिक्षा समितका सदस्य तथा दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विभिन्न विद्यालयका शिक्षकहरुको सक्रियताले रामपुरको स्काउट यो स्थान सम्म आईपुगेको भन्दै यसको उद्देश्य परिपूर्तिका लागि सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय स्काउट रामपुरका संरक्षक नगर प्रमुख रमण बहादुर थापा,प्रमुख स्काउट उपप्रमुख बाल कुमारी थापा र सदस्य सचिव नगर शिक्षा अधिकृत विकल काफ्लेलाई नेपाल स्काउट लुम्बिनी प्रदेश सदस्य सुशीला गाेदार र स्थानीय स्काउट रामपुरका संयाेजक सागर श्रेष्ठले संयुक्त रूपमा दिक्षित गराउनु भएकाे थियोे ।
रामपुर नगरपालिकाका उपप्रमुख तथा प्रमुख स्काउट बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख तथा संरक्षक रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । स्थानीय स्काउटका सदस्य सचिव विकल काफ्लेको स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नुभएको थियाे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । हाल रामपुर नगरपालिकाका ११ विद्यालयमा स्काउट ट्रुप सञ्चालनमा छन् ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend