
नवनियुक्त अध्यक्ष खनाललाई माईन्युट हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष ढकाल । तस्विर: दुर्गेश मल्ल
जेठ १९ ।
पाल्पा, रामपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष युवराज खनालको सोमबार पदस्थापना भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय बाट अध्यक्षमा नियुक्त हुनु भएका खनालले सोमबार अस्पतालमा सरोकारवालाहरु सहितको उपस्थितिमा अन्तरक्रिया गरी पदस्थापना गर्नु भएको हो ।
अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो । प्रमुख अतिथि श्रेष्ठले अस्पतालको भौतिक पूर्वाधारमा सुधार देखिए पनि सेवा गुणस्तरमा अझ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालप्रतिको जनविश्वास अभिवृद्धि गर्न सेवा प्रवाहमा पारदर्शिता र प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । कालीगण्डकी करिडोरको निर्माणसँगै रामपुर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न आफूहरू निरन्तर लागिपरेको समेत उहाँले उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले अस्पतालको समग्र सुधारका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउँदै नगरपालिकाले सेवा विस्तार, उपकरण तथा भौतिक संरचना विकासमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । स्वस्थ्यकर्मीहरुको सुरक्षाको लागि यहाँका सरोकारवालाहरु प्रतिवद्ध भएर लागेको बताउँदै चिकित्सकहरुको मनोबल उच्च बनाउन प्रत्साहनका कार्य अघि बढाउनु पर्नेमा जोड दिनुभयो । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले ल्याब तथा फार्मेसी सेवा गुणस्तरीय बनाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अस्पतालको सेवा प्रवाहमा सामान्य समस्याले पनि प्रभाव पार्ने भएकाले समस्या समाधानमा विशेष सावधानि अपनाउन आग्रह गर्नुभयो ।
अस्पताल विकास समितिका नवपदस्थापित अध्यक्ष युवराज खनालले अस्पतालको विकासको लागि ढृदताका साथ अघि बढ्ने बताउनुभयो । व्यवस्थापनलाई चुस्त बनाउँदै साना देखि ठूला समस्या पहिचान गरेर समाधान खोज्ने बताउनुभयो। अध्यक्ष युवराज खनालले पूर्व समितिले थालेका कामलाई निरन्तरता दिँदै सरोकारवालासँग सहकार्यमा अस्पताल सुधारका लागि दृढताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
निवर्तमान समिति अध्यक्ष रामप्रसाद ढकाल रमेशले आफ्नो कार्यकालमा भएका प्रयास तथा बाँकी कार्यको जानकारी गराउँदै समय अभावका कारण कतिपय काम अपुरो रहेको बताउनुभयो। उहाँले नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । कार्यक्रममा निवर्तमान असपताल विकास समितिका सदस्य सरस्वती भट्टराईले अस्पताल सुधारका बाँकी कार्यलाई निरन्तरता दिदै अघि बढ्न शुभकामना दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाली कांग्रेस रामपुरका नगर उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष लिल बहादुर गाहा, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापति अर्जुन श्रेष्ठ, एकिकृत समाजवादीका नगर अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष राम प्रसाद गैरे, नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाका सहमहामन्त्री कमलराज भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्ल, रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले नागरिक स्तरबाट सुझाव संकलन गरी व्यवस्थापनको पक्षलाई चुस्त बनाएर अघि बढ्न सुझाव दिएका थिए । कार्यक्रम सहभागी सरोकारवालाहरुले जनस्तरबाट सुझाव संकलन गरी अस्पताल व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिर काफ्लेले अस्पतालको वर्तमान भौतिक संरचना र अवस्था, प्रवाह हुँदै आएका सेवा र प्राप्त उपलब्धिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अस्पताल बाट हाडजोर्नी विशेषज्ञ र बालरोग विशेषज्ञ चिकित्सक बाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिर काफ्लेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन अस्पतालका नर्सिङ्ग अधिकृत ममता रेग्मीले गर्नु भएको हो ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिर काफ्लेले निवर्तमान समितिका अध्यक्ष तथा सदस्यहरुलाई उहाँहरुको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । रामपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष युवराज खनाललाई निवर्तमान अध्यक्ष रामप्रसाद ढकालले खादा ओढाएर स्वागत गर्दै माईन्युट हस्तान्तरण गरी पदास्थापना गराउनु भएको थियो ।



© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend