
प्रतियोगिताको उद्घाटन गर्नु हुँदै नगरप्रमुख थापा ।
जेठ २६ ।
पाल्पा, माध्यमिक तह स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सोमबार रामपुरमा सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ रामपुर पाल्पाको आयोजनामा नगरपालिका भित्रका माध्यमिक विद्यालय विच प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।साथै विद्यार्थीहरुको प्रतिभा देखाउने अवसर यस्ता प्रतियोगिताले प्रदान गर्ने बताउनुभयो ।उहाँले विद्यार्थीहरुलाई किताबी ज्ञान संगै उनिहरुमा भएका प्रतिभाको उजागर गर्नका लागि व्यवहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो । सैद्धन्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा शिक्षकहरुले ध्यान दिन आग्रह गर्नुभयो । विद्यार्थीहरुको शैक्षिक विकास र अध्ययनका लागि विभिन्न छात्रवृत्ति लगायत विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले शैक्षिक तथा बौद्धिक विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताउनुभयो । उहाँले विद्यालय शिक्षा संगै समय समयमा यस्ता बौद्धिक क्रियाकलाप सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै नेपाल शिक्षक महासंघका संघीय प्रतिनिधि बालकृष्ण लम्सालले शिक्षकहरुको हितका लागि मात्रै काम गर्ने संस्थाले विद्यार्थीहरुका लागि गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउनुभयो । नेपाल शिक्षक महासंघका पाल्पामा जिल्ला उपाध्यक्ष टंकनाथ पोखरेलले जिल्ला कार्य समितिको कार्यक्रम अन्तरगत अहिले विभिन्न पालिकामा कार्यक्रम भईरहेको बताउनुभयो ।
आधारभूत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले पार्टीका शुभेच्छुक तथा भातृ संघ संगठनमा आवद्ध नभइ सिंगो नेपाल शिक्षक महासंघको माध्यमबाट शिक्षकको हित र विद्यार्थीहरुको क्षमता विकासमा लाग्न आग्रह गर्नुभयो । नेपाल शिक्षक संघ रामपुरका सभापति डोलराज रेग्मीले विद्यार्थीहरुको बौद्धिक क्षमताको विकासका लागि यो कार्यक्रम लाभदायी हुने बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन रामपुरका अध्यक्ष रामभक्त पराजुलीले विद्यार्थीहरुलाई बाहिरि ज्ञानको बारेमा जानकारी गराउन कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । आधारभूत माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रम नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष बद्री घिमिरेको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सहअध्यक्ष रुपनाथ गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पराज ढकालले गर्नु भएको थियो । प्रतियोगितामा नगरपालिका भित्रका १३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामतुलसी नमुना माध्यमिक विद्यालय प्रथम, दरैठाँटी माध्यमिक विद्यालय द्वितिय र जनविकास माध्यमिक विद्यालय तृतिय भएको छ । विजेता विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend