साउन १४ ।
पाल्पा, रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । स्थानीयस्तरका विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो । नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक , आर्थिक, समाजिक, पर्यटन ,भूगोल लगाएतका विषयलाई समेटेर “हाम्रो रामपुर” नामक पाठ्यपुस्तक निर्माण गर्न लागेको हो ।
पुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गरी सूचना संकलन कार्यशाला सम्पन्न गरेको छ । पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिका भित्रका १० वटै वडामा सूचना संकलन कार्यशाला सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई समग्र रामपुर नगरपालिकाको विषयमा जानकारी गराई पठनपाठनमा एक रुपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विभिन्न देश र स्थानको बारेमा अध्ययन गरे पनि आफ्नै स्थानको बारेमा जान्न नसक्नु दुखद् पक्ष रहेको भन्दै नगरपालिकाको विषयमा जानकार गराउन पाठ्यपुस्तक निर्माणको काम शुरु गरेको थापाले बताउनुभयो ।
विज्ञ ल्याएर पुस्तक लेख्दा यहाँको स्थानीय विषयवस्तुलाई सही रुपमा उठान गर्न नसक्ने भएकाले यहीँका शिक्षकहरुको सहयोग र सक्रियतामा पुस्तक निर्माण गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । “स्थानीय जनतालाई जति थाहा छ, त्यो बाहिरी व्यक्तिलाई थाहा हुँदैन ।” , उहाँले भन्नुभयो– “ठुलो धनराशी खर्चेर बाहिरी व्यक्तिलाई पुस्तक लेखाउनु भन्दा स्थानीय शिक्षकहरुको सक्रियता र स्थानीय व्यक्तिहरुसंग सूचना संकलन गरी सबैको सहभागितामा पुस्तक तयार गर्दा यथार्थ ,विश्वसनीय र प्रभावकारी हुन्छ ।” पुस्तक लेखनका लागि पहिलो चरणमा स्थानीय समुदायसंग सूचना संकलनका लागि सबै वडामा कार्यशाला सम्पन्न गरेको र आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक अध्यापन गर्ने तयारी रहेको थापाले बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले हरेक वडाको यथार्थ बस्तुस्थिति बारे सही सूचना संकलन गरी विश्वसनीय र पठनीय दस्तावेजको रुपमा विकास गर्न स्थानीय पाठ्यपुस्तक लेखनका लागि कार्यशाला सञ्चालन गरिएको बताउनुभयो । उहाँले पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठन पाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको बताउनुभयो । स्थानीयस्तरमा रहेका विभिन्न क्षेत्रको पहिचान संगै रचनात्मक र ऐतिहासिक कार्यक्रम भएको नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । नगरपालिका भित्र रहेका जातजाति, भाषा, संस्कृति लगाएत स्थानीय कुरा बारे अभिलेख सहित विद्यार्थीहरुलाई शिक्षण र भावि सन्ततीलाई अध्ययन गर्न पाठ्यपुस्तक महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । साथै पाठ्यपुस्तक लेखन कार्य युगान्तकारी अभ्यास भएको भन्दै समग्र रामपुरको वृहत्तर विकासका लागि कोषेढुङ्गाको रुपमा स्थापित हुने बताउनुभयो ।
रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा “हाम्रो रामपुर” पाठ्यक्रम लागु गरेर पठन पाठन भए पनि पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर लेखन तयारी गरेको रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको शिक्षा अधिकृत काफ्लेको भनाई छ । कार्यदलले विभिन्न ८ वटा विषयवस्तुमा आधारित रहेर सुझाव सहित सूचना संकलन गरेको छ ।
कार्यदलले प्रत्येक वडा तथा बस्तीको भूगोल, ईतिहास , स्थानीय सरकार , सांस्कृतिक सम्पदा , वन वातावरण तथा सरसफाई , स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन , सामाजिक विकास , स्थानीय विकासका पूर्वाधार , विपद व्यवस्थापन र सुरक्षा गरी ८ वटा विषवस्तुमा आधारित रहेर सूचना संकलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताउनुभयो ।नगरपालिका भित्रका हरेक बस्तीको सबै यथार्थ बस्तुस्थिति बारे जानकारी लिनका लागि प्रत्येक वडामा वडाबासीको प्रत्यक्ष सहभागितामा सूचना संकलन गरिएको संयोजक देवकोटाले बताउनु भएको छ ।
विभिन्न वडाबाट संकलित सूचना र सुझाव पाठ्यपुस्तकमा नसमेटिए पनि सन्दर्भ सामग्रीको रुपमा प्रकाशित गरिने उहाँले बताउनुभयो । स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि १० वटै वडामा समाजसेवि, बुद्धिजिवि , राजनीतिक दल ,जनप्रतिनिधि लगायत वडाबासीहरुको प्रत्यक्ष सहभागितामा सूचना संकलन कार्यशाला सम्पन्न गरि सकेको छ ।यस पश्चात संकलित सूचनाको आधारमा विषय छनौट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडी बढाउने हाम्रो रामपुर पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले जनाएको छ ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend